प्रचण्डले देशलाई अस्थिरतातर्फ धकेले : लेखराज भट्ट

प्रचण्डले देशलाई अस्थिरतातर्फ धकेले : लेखराज भट्ट

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टलेले पुष्पकमल दाहाल प्रचण्डले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको आरोप लगाएका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले भने, “उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ । उहाँमा वैचारिक विचलन आएको छ । पार्टी केका लागि जुट्यो ? फुट्यो ? ।”

उनले प्रचण्डले केटाकेटीपन देखाएको समेत आरोप लगाए । नेता भट्टले सुदूरपश्चिमका जनता गणतन्त्र र संघियताको रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक भएर लागेको बताए ।

पार्टीमा वैचारिक विचलन भएको भन्दै पार्टीको विवादमा सैद्दान्तिक विषय नभएको बताउदै भट्टले प्रचण्डमा वैचारिक विचलन आएको बताए । प्रचण्डलाई प्रश्न गर्दै नेता भट्टले आज किन सडकमा जानु पर्यो ? भन्दै अब हामीले उहाँहरुलाई खोज्नुपर्ने अवस्था आएको बताए ।

प्रचण्डले देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउदै नेता भट्टले देशलाई अस्तव्यस्त बनाएको आरोप लगाए । प्रचण्ड-नेपाललाई पद नपाएर छटपटी भएको भन्दै अहिले पार्टी र देशलाई अस्थिर बनाएको बताए ।

प्रचण्डले माइतीघर मन्डलामा गएर ओलीसँग प्रधानमन्त्री चाहियो भनेर माग गरिरहेको भन्दै भट्टले भने 'उहाँहरु मण्डलामा गएर पद चाहियो भनिरहनु भएको छ ।' प्रचण्डले जनयुद्धका घाइतेहरुलाई नसम्झिएको भन्दै अहिले सबैको याद आइरहेको उनले बताए ।

भट्टले एमाले र माओवादीको लिगेसी सक्किएको भन्दै अब नेकपालाई आन्दोलनको रुपमा अगाडी बढाउने बताए । ओलीले समृद्ध नेपाल सुखी नेपालीको दर्शन देखाएको भन्दै यसलाई सपनाको रुपमा पुरा गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, 'प्रचण्ड-नेपालले भन्दै हुनुहुन्छ, गणतन्त्र जान्छ, संघियता जान्छ भनेर प्रचार गर्दै हुनुहुन्छ, आफ्नै पार्टीको विरुद्ध अविश्वास प्रस्ताव ल्याएर अस्थिरता निम्त्याउनु भयो ।'

प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा निर्वाचनपछि प्रधानमन्त्री र महाधिवेशनपछि पार्टीको नेतृत्व छोड्ने भन्दा भन्दै प्रचण्डले अहिले नै प्रधानमन्त्री चाहियो भनेपछि समस्या आएको बताए ।