सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रायश्चित गरेर आएमा सूर्य चिह्नमा चुनाव लडन दिने बताएका छन्। पूर्वमन्त्री भट्टराईले आधिकारीक र संस्थापन नेकपा पार्टी प्रचण्ड–नेपाल नेतृत्वको नेकपा भएको भन्दै प्रधानमन्त्री ओलीले चुनाव चिह्न सूर्य पाउन गल्ती स्वीकार गरेर पश्चाताप गर्नुपर्ने बताए।
आइतबार सुर्खेतको वीरेन्द्रनगर नगर पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा चुनाव चिह्न सूर्य ओली समूहले पाउने कुनै सम्भावना नरहेको दाबी गरे। तर आत्म आलोचना गर्न ढिला भए त्यो पनि नपाइने उनले तर्क गरे। भने, 'अझै केही बिग्रेको छैन, संसद् विघटन गरेको गल्ती भो भनेर सच्याउनुहोस्, नयाँ एकता कायम गरेर लागौं।’
आधिकारिक र संस्थापन पक्ष प्रचण्ड नेपाल नेतृत्वको पार्टी भएकाले निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे। दुई तिहाइ केन्द्रीय समिति आफ्नो पक्षमा रहेको भन्दै उनले आवश्यक परे नागरिकता तथा भौतिक रुपमा मान्छेसहित उपस्थित गराउन पनि आफूहरु तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले ओरालो यात्रा गरिरहेका उनको भनाइ थियो । भट्टराईले भने, 'म यति भन्न सक्छु, केपी कमरेडको यात्रा यसअघि उकालो थियो, होला तर अब ओरालो तिर लागिरहेको छ, उहाँ कहाँसम्म पुग्नुहुन्छ थाहा छैन, उहाँको गति हेर्दा छिट्टै क्षयीकरणमै जानुहुन्छ।’ ओलीले प्रधानमन्त्रीको पदलाई नै अन्तिम लक्ष्य बनाएर अघि बढेकाले ओरालो लाग्नुपरेको बताए।