काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस संसद सचिवालयबाट फिर्ता पठाएकोमा आपत्ति जनाएका छन् । सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुख अग्नि सापकोटाको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ती जनाएका हुन् ।
संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उनको तर्क । उनले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताए ।
अध्यक्ष तिमल्सिनाले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको समेत स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले सभामुखले फिर्ता पठाएको पत्रको असर नियुक्तिमा पर्छ जस्तो आफूलाई नलाग्ने बताए ।
आईतबार संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ती जारी गरी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आफू निहित अधिकार प्रयोग गरि परिषद्ले गरेको पदाधिकारी नियुक्ति सम्बन्धी सक्कलै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको जानकारी गराएको थियो ।