नेकपा फुट्दैन, ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ:नेता महासेठ

नेकपा फुट्दैन, ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ:नेता महासेठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै मिलेर चुनावमा जाने पनि दाबी गरेका हुन् ।

‘उहाँहरु मिलेर नै चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्ताव पनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’

उनले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे । उनले भने, ‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईहरु पनि जुट्न्होस । हामी अदालतको निर्णय मान्छौं । संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ ।’

आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उनले बताए ।

महासेठले निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यो पनि आफूहरुले मान्ने दाबी गरे । नेता महासेठले यही माघ २३ गते काठमाडौंमा हुने आफूहरुको भेलामा प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको पनि दाबी गरे ।