काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहबीच झडपको स्थिति सिर्जना भएको छ । काठमाडौं, चितवन, धनगढीलगायतका स्थानमा एक समूहले बन्दको समर्थनमा र अर्को पक्षले बन्दको विरोधमा प्रदर्शन गर्न थालेपछि झडपको अवस्था सिर्जना भएको हो ।
प्रचण्ड-माधव समूहका कार्यकर्ताले बन्द सफल पार्नका लागि प्रदर्शन गरिरहेका बेला केपी ओली समूहले बन्दको विरोध गर्दै प्रदर्शन गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धनगढी नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका नेताले थुतेपछि दुवै समूहबीच तनावको अवस्था सिर्जना भएको छ । धनगढीको चौराहामा बन्द गराउँदै हिडेका प्रचण्ड–नेपाल पक्ष नेकपाका कार्यकर्ता र बन्द खुलाउँदै हिँडेका नेकपा ओली पक्षका कार्यकर्ताबीच दोहोरो झडप हुने स्थिति सृजना भएको छ ।
ओली पक्षका कुमार बडैलाको नेतृत्वको समूहले बन्द खुलाउँदै हिडिरहेको छ भने प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले बन्द गराउँदै हिडिरहेका छन् । उनीहरुले एक अर्काको विरुद्धमा नाराबाजी गरिरहेका छन् ।