काठमाडौ । नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाँक्रीलाई बोलाउँदा चर्को हुटिङ भएको छ । सभालाई सम्बोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन् ।
उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।
‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’ नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठिन गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् ।