'नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन'

'नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन सक्दैन'

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले नेकपामा देखिएका विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ। आज आयोगमा भएको बैठकमा सहभागी प्रचण्ड-नेपाल पक्षका नेता लिलामणि पोखरेलले नेकपाको विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन्।

‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छरु नेकपाको ६४ प्रतिशत मत छ। यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ छलफलमा बोलेर बाहिरिएका पोखरेलले भने।

नेकपामा ओली र प्रचण्ड नेपाल समूह क्रियाशील छ। तर आयोगले कसैलाई पनि आधिकारिकता दिएको छैन। पार्टी स्थापना गर्दाको ४४१ सदस्यीय केन्द्रीय समिति भएकोलाई आयोगले मान्यता दिएको र त्यसपछि थपेका केन्द्रीय सदस्यलाई आयोगले मान्यता दिएको थिएन।

आज आयोगले निर्वाचन आचारसंहिताबारे दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो। १४ दल छलफलमा सहभागी रहेका छन्। आयोगमा नेकपाबाट ओली समूहका नेता बाबुराम शर्मा दाहाल र प्रचण्ड-नेपालबाट पोखरेल सहभागी छन् भने कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना सहभागी छन्।

पोखरेलका अनुसार निर्वाचन आचारसंहिताबारे आयोगले मस्यौदा प्रस्तुत गरेको थियो। आचारसंहिता उलंघन गरेमा एक लाख जरिवाना र उम्मेवारी नै खारेज हुन सक्ने आचारसंहिता रहेको छ।