कांग्रेसलाई डा. भट्टराईको प्रश्न : तपाईंहरु पनि सेटिङ मै चल्या हो ?

कांग्रेसलाई डा. भट्टराईको प्रश्न : तपाईंहरु पनि सेटिङ मै चल्या हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावलाई लिएर केही कांग्रेसी नेताको भनाईप्रति संसय व्यक्त गरेका छन्। उनले केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद् भएको बताए।

उनले चुनावमा ढिलोछिटो जानै पर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम नसच्चिई चुनावमा जॉदा संविधान धरापमा पर्ने बताए। अध्यक्ष भट्टराईले संसद् पुनर्स्थापनापछि चुनावमा जॉदा कांग्रेसको दुवै हातमा लड्डु हुने बताएका छन्। उनले कांग्रेसले यो कुरा नबुझेको देख्दा सिटिङ नै हो कि भन्ने प्रश्न उठाएका छन्।

‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद् छ। चुनावमा त ढिलोछिटो जानैपर्छ। तर, ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जॉदा (भैहालेमा) संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जॉदा दुवै हातमा लड्डु हुन्छ ! किन नबुझेको ? कि सेटिङ नै हो ?’, मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै प्रचण्ड–नेपाल पक्ष, जसपा र कांग्रेस आन्दोलनमा छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष आन्दोलनमा भए पनि उसले चुनाव र पुनर्स्थापना जे भए पनि स्वीकार्ने बताउँदै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पुनर्स्थापनामा जोड दिँदै आएको छ।

सरकारले नियुक्ति गरेका संवैधानिक आयोगमा समेत देउवानिकट व्यक्तिहरु परिरहेका बेला डा. भट्टराईले यस्तो प्रश्न उठाएका हुन्।