काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार किरण साह नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।
ओली समूहको युवा संघका उपाध्यक्ष सन्जीवकुमार झा ‘सुरज’ले दिएको जानकारी अनुसार मंगलवार साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा खादा ओढाएर पार्टी प्रवेश गराएका छन् ।
नेपाली कांग्रेस समर्थित जनकपुरका बलराम ठाकुरलाई पनि पार्टी प्रवेश गराइएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक समेत रहेका ठाकुरलाई समेत पार्टी प्रवेश गराइएको सुरजले बताए ।
ठाकुर नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि निकट थिए । ठाकुरलाई निधिले नै बृहत्तर जनकपुरको कार्यकारी निर्देशक बनाएका थिए । यसअघि नै जसपाकै अर्का नेता डा. शिवजी यादव र युवा इन्चार्ज इस्लाम हवारी पनि नेकपाको ओली समूहमा प्रवेश गरिसकेका छन् ।