काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समूह प्रचण्ड–माधव समूहसँग वार्ता गर्न दूतहरू पठाइरहेको खुलेको छ । ओली पक्षले प्रचण्ड-नेपालसँग वार्ताको कोसिस गरिरहेको बाहिर चर्चा भैरहेका बेला अध्यक्ष माधव नेपालले नै यसको खुलासा गरेका छन् ।
शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेता नेपालले ओलीले बाहिर आफूहरूको सत्तोसराप गरिरहेकै बेला विभिन्न दूतहरूलाई आफूहरूसँग वार्तागर्न पठाएको बताए । ओलीले अहिलेपनि विभिन्न प्रलोभन र आस्वासन देखाउँदै अफर गरेको पनि उनले बताए ।
त्यतिमात्र होइन नेता नेपालले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरेको समेत नेपालले स्मरण गरे । आफ्ना समुहका नेताहरूलाई पनि विभिन्न प्रलोभन देखाएर ओलीले भ्रम पैदा गर्ने कोसिस गरेको उनले बताउँदै उनले त्यो प्रक्रिया जारी नै रहेको बताए ।
नेता नेपालले भने, ‘बाहिर धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् ।’