मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैनः प्रधानमन्त्री

मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार्य छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक स्थिरता दिनु अहिलेको आवश्यक्ता भएको बताए । 

उनले अब मुलक राजनीतिक स्थिरता र विकासमा अघि बढ्ने उल्लेख गर्दै समाजमा अराजकता र आपराधिक मानसिकता बढिरहेकोले नैतिकता र अनुशासनको बन्धन आवश्यक रहेकोमा जोड दिए । सेवा दलबाट दीक्षित क्याडेटहरुलाई प्राकृतिक विपद्, सामाजिक जागरण र विकासका जुनसुकै काममा लगाउन सकिने पनि उनले धारणा राखे ।

कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलले स्थापना कालदेखि नै युवाहरुलाई अनुशासित र बफादार बनाउन सञ्चालन गरिएको तालिम प्रभावकारी रहेको बताए ।

राष्ट्रिय सेवा दलले विद्यालय तथा महाविद्यालय तहमा अध्ययनरत युवाहरुलाई सेवा दलमा आबद्ध गराएर तालिम दिने गरेको छ ।