काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “अब सरकार परिवर्तन गर्न लाग्नेहरु निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।” सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उनले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे । मन्त्री गुरुङले भने, “मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो ।”
फरक प्रसङ्गमा उहाँले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पु¥याउने योजनालाई तीव्रता दिएको जानकारी दिए । उनले त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्याउने योजना सुनाए।