काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मष्तिष्कमा भइरहेको रक्तश्राव घटेको नर्भिक अस्पतालले जनाएको छ। भेन्टिलेटरमा उपचाररत जोशीको सक्रिय रक्तश्राव नभएको उपचारमा संलग्न एक चिकित्सकले बताए।
यस्तै शनिबार बिहानदेखि उनको दायाँ खुट्टा बढी चल्न थालेको छ। अवस्था सुधारोन्मुख भएपनि उनी जोखिममुक्त नरहेको चिकित्सकको भनाई छ। पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो। वीरमा लगिदै गर्दा उनी बोल्न सक्ने अवस्थामै थिए।
वीरमा सिटी स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको पाइएको न्युरो सर्जन डाक्टर राजीव झाले बताएका थिए। मस्तिष्कमा रगत जमेको पाइएपछि नेता जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।