काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको बिसर्जन चाहेको बताएका छन्। पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ को एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा अरुलाई अपमान गर्ने संस्कार फस्टाएको र साइवर सेना चलाएर पार्टी एकीकरण नचाहेको समेत बताए।
ओली समूहमा लागेका नेता कार्यकर्तालाई आफ्नो समूहमा आउन नेपालले आग्रह समेत गरे। उनले आफ्नो समूहमा आउने समय अझै बाँकि रहेको भन्दै भने,'ओली तिर लागेको व्यक्तिलाई वेवास्ता गर्न मिल्दैन। किनकी हामीले हाम्रो आन्दोलन सशक्त बनाउनु छ। उहाँ सहि र गलतको विश्लेषण गर्नुहुन्न। केपी ओलीमा कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्ने चहाना रह्यो,'
ओली नेता कार्यकर्ताको मान मर्दन गर्न तम्सिएको नेपालको आरोप थियो। 'ओलीको भ्रममा परेका साथीहरू आउनुस हामी कुनै आग्रह पुर्वाग्रह हुदैन। स्वागत गर्छौ,' उनले भने। ओलीले आफ्नो पार्टीको झण्डा दुरुपयोग गरेको भन्दै बैधानिक रुपले ओलीलाई पार्टीले कारवाही गरेको बताए।
'पुस ५ मा बसेको बालुवाटारको बैठक ओलीको सहमतिमा बसेको थियो। पछिका बैठक त्यसैको निरन्तरता थियो,' उनले भने। ओलीले संकटकालको धम्की दिइरहेको समेत आरोप लगाउँदै नेपालले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउन नसकिने समेत बताए।