ओलीको विकल्प नेकपाबाटै आउँछ, अहिले जनतालाई झुक्याउने काम भइरहेको छः राजेन्द्र महतो

ओलीको विकल्प नेकपाबाटै आउँछ, अहिले जनतालाई झुक्याउने काम भइरहेको छः राजेन्द्र महतो

धनगढी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केपी ओलीलाई पदबाट हटाउन सक्ने ताकत आफुहरुसँग नभएको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका हुन् ।

उनले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताए । ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन । नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ,’ उनले भने, ‘दलको नेताबाट हटाउन सक्नुपर्‍यो नि नभए पार्टी फोरेर हटाउनुपर्‍यो । ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ ।’

उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहने बताए । ‘दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’, महतोले भने, ‘या त भन्नुपर्‍यो माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी, तर मजाक बनाउनु भएन के ।’