काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वसभामुख कृष्ण बहादुर महरासँग भेट गरेका छन् । विप्लवले आज बिहान महरा निवास खुमलटार पुगेर महरासँग भेट गरेका हुन् ।
वर्तमान सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लव अहिले विभिन्न पार्टीका नेता तथा आफ्ना कार्यकर्ता भेट्नमा व्यस्त छन् ।
तत्कालीन माओवादी जनयुद्धपछि शान्ती प्रक्रियामा आउँदा नेतृत्वदायी भुमिका खेलेका महरालाई विप्लवले राजनीतिक तथा शैक्षिक गुरुको रुपमा सम्मान गर्ने गर्छन् ।
विप्लवले महरासँग भेटेर वर्तमान राजनीति अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको बुझिएको छ ।
सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलोपट आज ४ बजे संसद बैठक बस्दैछ । संसद बैठक बस्नुअघि पछिल्लो राजनीतिमा चर्चाका रुपमा आएका विप्लव र पूर्व सभामुख महराको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।