काठमाडौं । संसदको चौथो ठूलो दलले सरकारका सहभागी हुनेरनहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पार्टीका पाँच शीर्ष नेतालाई जिम्मा दिएको छ। मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राईलाई जिम्मेवारी दिएको हो।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि पहिलोपटक बसेको बैठक ६ घण्टा भन्दा बढी चलेको थियो। एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा निर्णय लिने जिम्मा पाँच नेतालाई दिइएको सांसद रेणुकुमारी यादवले जानकारी दिइन्।
जसपाको प्रतिनिधिसभामा ३४ जना सांसद छन्। मंगलबार नै बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि नयाँ सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।
बैठकमा सांसद लक्ष्मणलाल कर्णले बिहान बालुवाटारमा एमाले नेताहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए। ठकुर र महतोको सक्रियामा कर्णसहित सर्वेन्द्रनाथ शुक्लले एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईसँग छलफल गरेका थिए।
उक्त कुराकानीमा भावी सरकार गठन र जेलमा रहेका जसपा सांसद रेशमलाल चौधरीलाई छुटाउने विषयमा कुराकानी भएको बैठकलाई ब्रिफिङ गरेका थिए। पार्टीलाई जानकारी नै नदिइ अर्को दलसँग छलफल गरेको भन्दै बैठकमा केही नेताहरुले विरोध जनाएका थिए।