काठमाडौं । विपक्षी गठबन्धनको धर्नाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ। प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा भर्खरै सपथग्रहण गराइएको हो।
प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए। विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए। पोखरेलले पार्टीको एकलौटी सरकार बनाउन आइतबार बिहान राजीनामा दिएका थिए।
राजीनामा दिएका पोखरेललाई पुनस् मुख्यमन्त्रीमा नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन्। अल्पमतमा परिसकेका पोखरेललाई पुनस् नियुक्त गरिनु असंवैधानिक कदम भन्दै विपक्षी गठबन्धनले आपत्ति जनाएका हुन्। माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर सरकारको नेतृत्वमा दाबी गर्दै पोखरेलको सपथग्रहण रोक्नसमेत माग गरेका थिए। तर, विपक्षीको मागको सुनुवाई भएन।
पोखरेलले आफ्नो पक्षमा रहेका भनेकामध्ये विमला वलीले माओवादी केन्द्र रोजेको, एकजनाले राजीनामा दिएका र दुई जनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको दाबी विपक्षी गठबन्धनले गरेको छ। सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन्।
८१ प्रदेस सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ। विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन्। विपक्षी गठबन्धनले पोखरेलको सपथ रोक्न गरेको माग पुरा नभए कानुनी उपचार खोज्ने जनाएको छ।