नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अहिले सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ। ‘प्रधानमन्त्रीज्यू केहीबेरअगाडि सभापति निवास आउनुभएको हो। अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ,’ उनले भने।
उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत पनि प्रधानमन्त्री ओलीसँगै बुढानिलकण्ठमा छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ।
यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो। कांग्रेस, माओवादी केन्द्रलगायतले गठबन्धन गरी बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवारसमेत तय गरिसकेका बेला प्रधानमन्त्री ओली देउवा भेट्न पुगेका हुन्।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको छ। बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ।