ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै दिए विश्वासको मत दिन नसक्ने जानकारी

ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै दिए विश्वासको मत दिन नसक्ने जानकारी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने बताएका छन्। आज बालुवाटारमा पुगेर अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए।

आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता के हुँदैछ भनेर आफूहरूले प्रधानमन्त्रीसँग सोधेको नेता महतोले बताए। जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता लिनेजस्ता काम गर्नुपर्ने खालका रहेको बताएका थिए भने कतिपय मुद्दा फिर्ता भइसकेको उल्लेख गरेका थिए। यस्तै अध्यक्ष ठाकुर र महतोलाई प्रधानमन्त्री ओलीले विश्वासको मतबारे कुरा के हो भनेर सोधेका थिए। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भनेका छन्।

‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्,’ महतोले भने, ‘विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं भनेका छौं।’ प्रधानमन्त्री ओलीलाई भेट्नुअघि अध्यक्ष ठाकुर र नेता महतोले करिब डेढ घण्टा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवासँग उनकै निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका थिए।