नेपाल पक्षसँग ओलीले गरेनन् वार्ता, राजीनामाका लागि बैठक बस्दै

नेपाल पक्षसँग ओलीले गरेनन् वार्ता, राजीनामाका लागि बैठक बस्दै

काठमाडौं । नेकपा एमालेभित्रको माधवकुमार नेपाल पक्ष अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले राखेका मागमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएपछि अब सामूहिक राजीनामाको बाटोमा जाने भएको छ। आज प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वातावरण बनाउन नेपाल समूहले सोमबार बिहान ९ बजेसम्मको  'अल्टिमेटम' दिएको थियो।

नेता नेपालले आइतबार राति ओलीलाई  ६ बुँदे पत्र लेखेका थिए। उक्त पत्रमा उनले सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका थिए। त्यस्तै त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरणलगायत निर्णय खारेज गर्नुपर्ने नेपालको माग थियो।

उक्त पत्रबारे अध्यक्ष ओलीले कुनै रेस्पोन्स नगरेकाले अब आफूहरूले बैठक बसेर सामूहिक राजीनामा दिने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले जानकारी दिए। प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।