पोखरा । नेकपा एमाले माधव नेपाल पक्ष जिल्ला कमिटी कास्कीका उपाध्यक्ष शोभाखर भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । ६३ वर्षीय भण्डारीको उपचारकै क्रममा निधन भएको हो ।
उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए । ‘एकहप्ताअघि कोरोना पुष्टि भएर स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना हुनु भएको थियो । बचाउन सकिएन,’ उनले भने । लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए ।
भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए । अविभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा आवद्ध थिए । ‘पञ्चायत कालदेखि नै निरन्तर रुपमा राजनीतिमा सक्रिय भण्डारीको क्रान्तिकारी विचारधारा र हकी स्वभाव थियो,’ आचार्यले भने ।