काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादवले तीन सांसद अपहरण गरेको आरोप लगाएका छन्। बुधवार सामाजिक सञ्जाल फेसबुकमा विकसित राजनीतिबारे तर्क प्रस्तुत गर्दै बस्नेतले यस्तो आरोप लगाएका हुन्।
बाबुराम र उपेन्द्रले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीन सांसद लुकाएको बस्नेतको आरोप रहेको छ। 'आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना सांसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ? के तिनीहरु अपहरणमा परेका होइनन ?' उनले प्रश्न गरेका छन्। यद्यपि उनले को को सांसद लुकाइएको भन्नेबारे भने स्पष्ट खुलाएका छैनन्। ठाकुर र महतोले नयाँ सरकार गठनमा कांग्रेसलाई सघाउन नसक्ने जनाउँदै प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने मनसाय यसअघि प्रष्ट पारिसकेका छन्।
त्यसैगरी बाबुराम र उपेन्द्रले लुम्बिनी प्रदेशका चार सांसदको पद खाएको आरोप लगाउँदै कसको सेवामा लागेको भनी प्रश्न गरेका छन्। भनेका छन्, 'लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ?'
उनले सत्ता राजनीतिमा बाबुरामले प्रधानमन्त्री बन्न चाहेको दाबीसमेत गरेका छन्। मन्त्री बन्न लागेका सांसद डा सुरेन्द्र यादवलाईसमेत बाबुरामले अपहरइ गरेको आरोप लगाउँदै बस्नेतले बाबुराममाथि गम्भीर प्रश्न उठेको तर्क गरे।
त्यसैगरी उनले कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको दबावमा सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन बाध्य भएकोसमेत जिकिर गरेका छन्। उनले भनेका छन्, 'आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी ओलीलाई नहटाइ भएको छैन। रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिभएको छैन।' कांग्रेस सभापति संसद किनबेचको दागी भएको आरोप लगाउँदै उनले अब फेरि खरिद बिक्री शुरु भएको आरोप लगाएका छन्।
'कांग्रेस सभापति देउवालाई ०५२ सालमा सांसद किनबेचदेखि अनेक बिकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिद बिक्री प्रक्रिया र पद (मन्त्री) बाँडने काम सुरु भएको छ। त्यो कुकर्मतिर लाग्दा काँग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा सथीहरुको सिलिबेट्री बन्ने नाटकिय प्रवृत्ति नङ्गिदैन ?' बस्नेतले थप प्रश्न गरेका छन्।
बहुमत नपुगे निर्वाचनमा जानु नै अहिलेको विकल्प भएको उल्लेख गर्दै उलने सबै राजनीतिक दलहरु अहिले कोभिड-१९ विरुद्धो अभियानमा लाग्नुपर्ने बताएका छन्।