राप्रपाले पनि दिएन बादललाई भोट, देवकोटाको जित सुनिश्चित !

राप्रपाले पनि दिएन बादललाई भोट, देवकोटाको जित सुनिश्चित !

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादलको दल परिवर्तनका कारण रिक्त पद पूर्ति निम्ति हेटौंडामा मतदान जारी छ । एमाले-माओवादी संयुक्त उम्मेदवार भएर विजयी बादललाई अहिले फेरि एमालेले मैदानमा उतारेको छ ।

एमाले उम्मेदवारको पक्षमा मतदान गर्न ह्वीप लगाए पनि नेपाल समूहले डा खिमलाल देवकोटालाई नै मत दिएको छ । त्यसैगरी राप्रपाले पनि बादलको पक्षमा ह्वीप जारी गरेको भएपनि मतदाताले भने बिपक्षी गठबन्धनका  देवकोटालाई नै मत दिएको बताइएको छ ।

बाग्मती प्रदेशभरिबाट राप्रपाले जितेको धादिङको रुबीभ्याली गाउँपालिका मात्रै हो । त्यहीँका अध्यक्ष चेवन तामाङ्ग र उपाध्यक्ष बीना तामाङ्ग पार्टी निर्देशन उल्लंघन गर्दै भर्खर भुटनदेवी माध्यामिक बिद्यालयको मतदान केन्द्रमा विवेकको मताधिकार प्रयोग गरेर बाहिरिएका छन् ।

एमालेको माधव-खनाल खेमाका नेताहरुले आफ्ना उम्मेदवारको बिजय सुनिश्चित रहेको दावी गर्न थालेका छन् । यो निर्वाचनमा एमालेबाहेक सबै पार्टी एकातिर छन् । विवेकशील तटस्थ बसेको छ भने नेमकिपाले आफ्नै उम्मेदवार उठाएको छ । 

राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु छुट्टाछुट्टै स्थानमा बसेका छन्। यतिवेला मतदान जारी छ ।