स्पष्टीकरण नबुझाउने सुदूरपश्चिम एमालेका ६ मन्त्रीलाई निष्कासित गर्न केन्द्रलाई सिफारिस

स्पष्टीकरण नबुझाउने सुदूरपश्चिम एमालेका ६ मन्त्रीलाई निष्कासित गर्न केन्द्रलाई सिफारिस

सुदूरपश्चिम । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेस नगरेको भन्दै ६ मन्त्रीलाई कारबाहीको सिफारिस गरेको छ । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको हो ।

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकारबाट फिर्ता आउन मन्त्रीहरूलाई निर्देशन दिएको थियो । तर, धनगढीमा बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

पार्टीको निर्णय विपरीत सरकारमा गएको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा शुक्रबार मात्रै नियुक्त भएका तीन जना मन्त्री र तीन राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गा कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस गरिएको जानकारी दिए ।

एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई पनि साधारण सदस्यसमेत नरहनेगरि निष्कासन गर्न सिफारिस गरिसकेको छ । तीनै जनाले स्पष्टीकरण पेस गरे पनि चित्त बुझ्दो नरहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको थापाले बताए ।