एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट सुरु भएको बैठकमा समसामयिक विषयका बारेमा छलफल हुने नेताहरुले बताएका छन्।

पार्टीभित्र माधवकुमार नेपाल पक्षका १२ जना नेताहरुलाई सोधिएको स्पष्टीकरणपछि थप कारवाही गर्ने तयारी भएपनि आजको बैठकमा त्यो सम्बन्धि एजेण्डानै नभएको एक नेताले जानकारी दिए।

‘पार्टीका नेपाल पक्षमा रहेका १२ जना नेतामाथि थप कारवाहीको एजेण्डा छैन,’ ती नेताले नेपालखबरसँग भने, ‘पार्टीले आफ्नो सदस्य बाहिर दिन जान चाहँदैँन, उहाँहरु पार्टीभित्र रहनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’ तर, कारवाही सम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

लुम्बिनी प्रदेशमा पार्टीको निर्देशन नमानेको भन्दै थप नेतामाथि कारवाही हुने चर्चा चलेको थियो।
यसअघि आइतबार र सोमबार बस्न तय भएको बैठक स्थगित गरेर आजको लागि सारिएको थियो।
नेताहरुका अनुसार हिजो सोमबार नेपाल पक्ष र अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीच छलफल भएको थियो।