काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १७ सदस्यीय हुने छ। स्रोतका अनुसार विस्तारित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन्।
त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन्। शेरबाहदुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। जसपाबाट महतोसहित ८ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन्।
महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्नेछन्। यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछ। चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बन्नेछन्।
उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका छन्। पार्टीबाट नियुक्ति हुन बाँकी मन्त्रीहरु केही दिनमा नियुक्त हुने भन्दै प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राख्ने भएका छन्।
ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई पार्टीकै जिम्मेवारीमा खटाउन परेकाले मन्त्रीमा नदोहोर्याइएको हो। ओलीले २०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले बतायो। यो मापदण्ड अनुसार सरकारबाट अब एमालेका हृदयेश त्रिपाठी, पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत बाहिरिएका छन्।