काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले एकता हुन नसक्नुका मुल जड शीर्ष नेतृत्व रहेकोतर्फ इंगित गरेका छन्। बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शीर्ष नेतृत्वकै कारण एकता हुन नसकेको भनी प्रश्न गरेका हुन्।
'कमरेड केपी ओली आफ्नै पार्टीका वरिस्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,' भट्टराईले लेखेका छन्, 'कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।'
भट्टराईले थप प्रश्न गरेका छन्, 'कसले, किन र के का लागि गर्दैछ यो सब?' उनले एमाले एकताको समस्याको मुल जड यही भएको दाबीसमेत गरेका छन्। यसका लागि गम्भीर छलफल हुनुपर्ने र एकता बचाउन जरुरी भएकोसमेत उनको तर्क रहेको छ। 'यस विषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ,' उनले भनेका छन्।
मंगलवार एमालेका दोस्रो तहका नेताहरुबीच एकताका लागि संवाद भएको थियो। ललितपुरको समिट होटलमा भएको संवाद विना निष्कर्ष टुंगिएपछि भोलिपल्ट भट्टराईको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। भट्टराई पछिल्लो समय एमाले एकताको पक्षमा सक्रियपूर्वक लागेका नेतामध्येका एक हुन्।