सिन्धुली। मध्य पहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ।
शनिबार साँझ खोटाङबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुडुलेमा गाडी अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बिके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्।
गाडी चार जना सवार थिए। अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।
नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रुहरुको खोजी कार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।