मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह

सिन्धुली।  बाढी र पहिरोका कारण झन्डै एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी राजमार्ग आज विहीबारबाट सञ्चालनमा आएको छ। गत असोज ११ र १२ गते आएको अविरल बर्षाले अवरुद्ध भएको मध्यपहाडी राजमार्ग खुलेको गोलञ्जोर गाँउपालिका सिन्धुलीका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले जानकारी दिए।

अविरल बर्षासँगै आएको बाढी र पहिरोले मध्यपहाडी राजमार्गका ठाँउठाँउमा पहिरो खसेर अवरुद्ध भएको थियो। चार ओटा एक्स्काभेटरले निरन्तर तीन दिनदेखि पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।

फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले घुर्मी र खुर्कोट दुबैतर्फबाट सडक खुलाउन मेसिन प्रयोग गरिएको थियो। उपाध्यक्ष न्यौपानेले राजमार्ग खुलेपनि साना साना पहिरोको जोखिम कायम रहेकोले यात्रा गर्दा सजग भएर गर्न अनुरोध गरेका छन्।

खुर्कोट-घुर्मी करिब ६० किलोमिटर सडकका दर्जनौँ स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। गोलञ्जोर गाँउपालिका-२ का वडा अध्यक्ष दौलत कार्कीका अनुसार कुखुरेटारमा ठुला ढुङ्गासहितको पहिरो भएकाले पन्छाउने काम भइरहेको छ।

बाढी पहिरोले मध्यपहाडी राजमार्गको खुर्कोट-घुर्मी खण्डस्थित अक्करेभिर, हैबारबेसी, बलेनी, मुर्कीबेसी कुखुरेटार  कुडुले, सुमनामबेसी, नवलपुर, निगुरेखोला, पंचकन्या लगायत दर्जनौँ स्थानमा पहिरो खसेको थियो।

पहिरो पन्छाउन स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरु सक्रिय भएका थिए। खुर्कोट-घुर्मी खण्ड सुचारु भएसँगै खोटाङ, ओखलढुङगा सोलुखुम्बु, भोजपुर लगायतका पुर्वी पहाडी जिल्लाहरुमा जान आउन आउन बाटो खुलेको छ।