काठमाडौं। चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौं उत्यकाबाट बाहिरिँदै छन्। घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन्। उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ। मंगलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताए।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका दिन पनि यात्रा गर्न सकिने जनाएको छ। सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । बसहरू नियमित रुट र क्यु फ्रीमा सञ्चालन हुने छन्।
असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौँ आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। उनले भने, “सडकको अवस्था विजोग छ। आउनुपर्ने गाडी समयमै आउन सकेका छैनन् । गाडी थपेर सेवा प्रवाह भइरहेको छ । काठमाडौँबाट जाँदा सिटफुल भए पनि आउँदा रित्तै आउनु पर्छ ।