काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले धमाधम उमेरहदका कारण अवकाश पाउन थालेपछि र नायब महानिरीक्षक (डीआईजी)हरू बढुवा भएपछि नेपाल प्रहरीमा अहिले डीआईजीको रिक्त दरबन्दी ८ पुगेको छ ।
पछिल्लोपटक एकदिने एआईजी किरण राणा र अर्का एआईजी रामदत्त जोशीले एआईजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएसँगै रिक्त दुई पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरिसकेको छ । उनीहरूको बढुवासँगै प्रहरीमा डीआईजीको रिक्त दरबन्दी ८ पुग्नेछ ।
रिक्त ८ डीआईजीका लागि तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अहिले प्रतिस्पर्धामा छन् । समग्रमा अहिले २० जना एसएसपी डीआईजीका लागि प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धामा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याचका समेत तीन जना छन् । कुँवरको ब्याचका एआईजी र डीआईजीले ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाइरहँदा उनकै ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र धु्रवराज राउत डीआईजीका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनीहरू आफ्नो ब्याचमेट आईजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा डीआईजी बढुवाको दौडमै रहेका हुन् । उनीहरू बढुवा भए पनि हालको प्रहरी नियमावलीनुसार आगामी ४ चैतमा अनिवार्य अवकाशमा जानेछन् ।
प्रहरी संगठनमा अहिले शक्तिकेन्द्रले रुचाए मात्र बढुवा हुने संस्कार हावी हुँदै गएको छ । त्यसैले पनि मेरिट लिस्टको टप थ्रीमा भए पनि आफूहरू बढुवा हुन्छौं भन्नेमा उनीहरू विश्वस्त हुन सकेका छैनन् । यसअघि पनि दाबेदार हुँदाहुँदै बढुवा सिफारिस समितिको आँखामा पर्न नसकेकाले यो अवस्था आएको हो ।
डीआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् । सदस्यमा आईजीपी र प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विभागका एआईजी सदस्य सचिव रहने कानुनी व्यवस्था छ । तर, यो बढुवा समिति शक्तिकेन्द्रको आदेशपालकजस्तो बन्दै आएको छ ।
यस्तै, डीआईजीको प्रतिस्पर्धामा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ सालमा प्रहरी निरीक्षक बनेकाहरू पनि डीआईजीमा बढुवाका लागि दौडधुपमा छन् ।
रवि लामिछाने गृहमन्त्री हुँदा आईजीपी कुँवर र राष्ट्रिय अनुसन्धान विभागबाट आएका ब्याचलाई छाडेर २०५४ सालको टोलीका अधिकृतलाई बढुवा गरिएको थियो । त्यतिबेला बढुवा हुनेमा २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी थिए ।
२०५३ र २०५४ सालको टोलीबाट बढुवा हुने प्रहरी अधिकारी भावी आईजीपीको दौडमा हुने भएकाले पनि अहिलेको बढुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मेरिट लिस्टको चौथो नम्बरमा सिद्धीविक्रम शाह, पाँचौंमा सुशीलसिंह राठौर, छैटौंमा उमाप्रसाद चतुर्वेदी छन् । यसैगरी, सातौं, आठौं र नवौं नम्बरमा क्रमशः हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र ओमबहादुर राना छन् । उनीहरू ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।
राअविबाट आएका शाह गत जेठको बढुवामै पर्ने चर्चा थियो । तर, तत्कालीन गृहमन्त्री लामिछानेले २०५४ सालको टोलीका तीन जनालाई काखी च्याप्दा शाह त्यसबेला डीआईजी बढुवामा पर्न सकेका थिएनन् । त्यसबेला लामिछानेमाथि राअविको टोलीलाई अन्याय गरेको आरोप पनि लागेको थियो । लामिछानेले ३ वर्ष जुनियरलाई बढुवा गरेर ‘फौजी मनोबल कमजोर बनाएको’ उच्च प्रहरी अधिकृतहरूको भनाइ रहँदै आएको छ ।
यस्तै, १८ चैत २०५४ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआईजीमा बढुवा हुने प्रतिस्पर्धामा छन् । ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियासहित ११ जना सो ब्याचका प्रतिस्पर्धी हुन् । यस टोलीमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका चार जनामध्ये राजु आर्याल सशस्त्रको आईजीपी, नारायणदत्त पौडेल र बंशिराज दाहाल एआईजी र शम्भु सुवेदी डीआईजी छन् ।