काठमाडौं। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानसेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न आज स्वदेश फर्किएका छन्। प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको नेपाली सेनाले जनाएको छ।
भारत भ्रमणको क्रममा यही मंसिर २७ गते प्रधान सेनापति महारथी सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिईन्।
भ्रमणको सिलसिलामा प्रधान सेनापति महारथी सिग्देल भारतको देहरादुनस्थित Indian Military Academy मा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथि (Reviewing Officer) को रूपमा सहभागी थिए ।
प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, Chief of Defence Staff जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको पनि नेपाली सेनाले जारी गरेको विज्ञप्तीमार्फत जनाईएको छ ।
सोही अवसरमा उहाँले भारतीय सेनाको Southern Command अन्तर्गतका Air Force Station, Tata Advanced System Limited लगायतका विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबिच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण हुने विश्वास नेपाली सेनाले लिएको छ ।