काठमाडौं। काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।
उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।
चौतर्फी दबाबपछि प्रहरी कुटपिटमा संलग्न जोशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे। उनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन्।
‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ। तर माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृत भन्छन्, ‘पक्राउ पुर्जी जारी भएकालाई भने सबैभन्दा कमजोर मुद्दा लगाइएको छ।’
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए। मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन्।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए। प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो। आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन्