काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता थापाले एमालेको केन्द्रीय समितिले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेण्डामासमेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए।
‘प्रस्तावमा पनि नभएको, छलफल गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने एजेण्डामा पनि नभएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने कि नहुने भन्ने सन्दर्भलाई छलफलमा ल्याएर उहाँलाई राजनीतिमा आउने रोक लगाएर कमिटीले निर्णय गर्यो। यो जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तसँग, त्यसको मान्यतासँग मेल खाँदैन । जबजले कसैलाई पनि निषेध गर्ने, रोक लगाउने, छेक्ने प्रकारको मान्यता मान्दैन। नेतृत्वको निम्ति स्वच्छ प्रतिस्पर्धा, हरेकका विचारलाई सम्मान गरेर प्रतिस्पर्धाको माध्यमबाट आफ्ना विचारलाई स्थापित गर्ने मान्यता जबजको हो,’ उनले भने।
निर्णय गर्न राजनीतिक दलहरु स्वतन्त्र भए पनि ती निर्णयहरु संविधान र कानुनसँग बाँझिन नहुने उनले बताए । राष्ट्रपति, पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सकृय राजनीतिमा आउने हुने वा नहुने भन्ने कुराको बहस गर्न सकिने भए पनि नेकपा (एमाले) प्रवेश गर्ने कुरासँग जोडेर मिसमास गरेर छलफल गर्न नमिल्ने उनले बताए । नेता थापाले पार्टी अहिले जबजको सिद्धान्तअनुसार नचलेको बताए । उनले पार्टीमा फरक मत र विचारलाई बन्देज लगाउने, प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने र निधेष गर्नेजस्ता गतिविधिहरु भइरहेको बताए । एमालेले संविधान र कानुनको भावनाविपरीत पूर्व राष्ट्रपति भण्डारीलाई दलको राजनीतिमा आउन रोक लगाएको बताए । पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने केन्द्रीय समितिको निर्णयमा आफूले ‘नोट अफ डिसेन्ट’ दर्ज गरेको पनि उनले बताए ।
‘अहिले यो बीचमा जनताको बहुदलीय जनवादले देखाएको बाटो, त्यसअनुरुप पार्टी चलिरहेको अवस्था छैन । पार्टीमा फरक मतप्रति असहिष्णु हुने, सकभर छलफल, बहस मन नपराउने, बहसलाई बन्देज लगाउने, विचारहरुलाई बन्देज लगाउने र प्रतिस्पर्धाको प्रणालीलाई कमजोर बनाउने प्रकारका काम र गतिविधिहरु भइराखेको स्थिति छ,’ उनले भने, ‘उहाँ (विद्या भण्डारी) लाई रोक्ने, निधेष गर्ने जो गरियो, त्यसमा फरक मतमा मैले भनेको छु– नेपालको संविधानले, कानुनले कुनै चिजले नरोकेको, नेकपा (एमाले) नेपालको कानूनबमोजिम दर्ता भएर सञ्चालित भएको पार्टी हो । त्यो पार्टीले निर्णय गर्दा संविधान र कानुनभन्दा माथि, संविधान र कानूनभन्दा विपरीत निर्णय गर्न मिल्दैन ।’
साथै, उनले अहिले संविधान संशोधन गर्दा राष्ट्रपति, उपराष्ट्रपति भइसकेका मान्छेहरुलाई राजनीतिमा आउन बन्देज लगाउनेगरी संविधानमै व्यवस्था गर्ने कि भन्ने बहस पनि भइरहेको उनले बताए । तर, जन्मसिद्ध अधिकारलाई संविधान र कानूनले कटौती गर्न नमिल्ने उनको तर्क छ । संविधान निर्माणका क्रममा पनि पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिलगायतलाई राजनीतिमा आउनबाट रोक्ने विषयमा बहस भएको उनले बताए । ‘जन्मसिद्ध अधिकारलाई सीमित गर्न मिल्दैन । मान्छेको स्वतन्त्रततालाई अंकुश लगाउने गरी कानुन बनाउन मिल्दैन । राजनीति गर्ने कि नगर्ने, कसरी गर्ने, कुन बेलामा गर्ने, कुन परिस्थितिमा कुन जिम्मेवारी लिने भन्ने कुरा कुनै कानुनबाट निर्देशित हुँदैन,’– उनले भने ।
अहिले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने भन्ने कुरा स्वेच्छिक रुपमा व्यक्तिमा छाडिएको विषय रहेको उनले बताए । राजनीतिमा सक्रिय हुने कुरा कुनै नैतिकता र अनैतिकताको प्रश्न नबन्ने उनले बताए । कुनै पदमा बसेकै कारण राजनीतिमा आउन नपाइने भन्ने कुरा नैतिकताको विषय बन्न नसक्ने उनको भनाइ छ ।