डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु

डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु

रुपन्देही। रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर-९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपानेको डुबेर मृत्यु भएको हो।

मृतक दुबै किशोर रुपन्देहीको तिलोत्तमा-५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्रामका बिद्यार्थी हुन्। उनीहरुले शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत थिए।

भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडिको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका पाँच जनामध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत न्यौपाने र अर्यालको डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थियो।

दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र पोष्टमार्टम गरिने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी गणेश सापकोटाले बताए।

प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य तीन जनासँग पनि सोधपुछ गरेको जनाएको छ। गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि नसकेपछि आफूहरु फर्केको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएका थिए।