काठमाडौं । साउन ने तृत्व हस्तान्तरणको आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभाजनको ‘डिल’मा पुगेको छ । नेतृत्व फेरबदल बहसबाट सुरु आन्तरिक कलह ‘वाक युद्ध’ हुँदै एकैठाउँ अटाउन नसक्ने तहसम्म पुगेको माओवादीकै जिम्मेवार नेताहरूको दाबी छ ।
आन्तरिक समस्याका कारण नेताबीच बोलचालसमेत बन्द हुने अवस्था बनेका बेला सत्तारूढ कांग्रेस र एमाले नेताले समेत पार्टी फुटाउने नियतसाथ नेताहरूलाई उक्साइरहेको माओवादी नेताको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीच बढ्दै गएको ‘टकराव’ विभाजननजिक पुगेको हो ।
प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै ‘छोडेर जा’ भन्दै जबर्जस्त धकेल्न खोजिएको बुझाइमा शर्मा छन् ।
प्रचण्ड र शर्माको पछिल्लो अभिव्यक्ति हेर्दा माओवादी विभाजनअघिको ‘वाक युद्ध’ चलेको जस्तो छ । माओवादी केन्द्रका अन्य नेताको अभिव्यक्ति पनि उस्तैउस्तै छ । कोही प्रचण्डको पक्षमा त कोही शर्माको पक्षमा बोल्दै एकअर्कालाई खुइल्याउने काममा लागेका छन् ।
‘नेतृत्वमाथि नै हमला पार्टीकै नेताले गर्न थाले, यसको प्रतिकार समयमै गरिएन भने त्यो ठीक हुँदैन, यसरी पार्टीकै नेताले नेतृत्वमाथि हमला गरेपछि चुप लागेर बस्न सकिँदैन, जवाफ दिनैपर्छ, प्रभाकर कमरेडको शैली ठीक भएन,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूनिकटका नेतासँग दुखेसो पोख्दै भनेका छन् ।
गत ६ साउनमा माओवादी केन्द्रका उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । काठमाडौ ंमा पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट पार्टीहरूभित्र प्रश्न उठाउने र बहस गर्ने वातावरण नै हराउँदै गएको गुनासो गरेका थिए ।
जनवादी केन्द्रीयताको कुरा गर्ने कम्युनिस्ट पार्टीहरूमा जनवाद हराउँदै गएको टिप्पणी गर्दै शर्माले भने, ‘आज कम्युनिस्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिँदैन, प्रश्न सुन्न नेतृत्व तयार हुँदैन, जनताले प्रश्न गर्छ, हामी कान सुनेर बस्छौं, यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौ ं, जनवाद समाप्त भयो, केन्द्रीयता मात्रै बाँच्यो, त्यतिमा मात्र सीमित भएन त्यो सामन्ती निरंकुशतामा बदलियो र कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डहरूजस्ता बन्न थाले, यो अवस्था आजको अवस्था हो ।’
उनले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको बताउँदै कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असुली धन्दा नै चलाएको गम्भीर आरोप लगाए । मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेको निष्कर्ष शर्माले सुनाए ।
शर्माले आफ्नै पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड पनि असुली धन्दामै रहेको अप्रत्यक्ष रूपमा हाकाहाकी भने । शर्माको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि सार्वजनिक कार्यक्रममार्फत नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलाल र बिचौलियाको पछि लागेर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोज्नेहरू कम्युनिस्ट हुन नसक्ने टिप्पणी गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रचण्डले शर्माले माओवादीभित्र जनवाद नभएको आरोप लगाएको भोलिपल्टै प्रचण्डले जवाफ फर्काउँदै यस्तो भनेका थिए । उनले शर्मालाई पार्टीभित्रै अहिले सिँगौरी खेल्न दिएको भन्दै फरक मतलाई दमन नगरेको स्पष्ट पारे ।
प्रचण्डलाई वर्षमान र मातृकाको दरिलो साथ
प्रचण्ड र शर्माबीच टकराव बढ्दै गएपछि नेतृत्वको दाबेदारका रूपमा चिनिने माओवादी केन्द्रका अर्का उपमहासचिव बर्षमान पुन ‘अन्नत’ प्रचण्डको पक्षमा खुलेर उभिएका छन् । शर्मालक्षित पुनले प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड नेम’ भएको भन्दै नेतृत्वविरुद्ध दोष थोपरेर कोही पनि उम्किन नहुने टिप्पणी गरेका छन् । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय प्रचण्डकै नेतृत्व आवश्यक रहेको पुनको धारणा छ ।
‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं, कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो, हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौं, उहाँको ब्रान्ड भ्यालु राम्रो छ,’ पुनले भने । दोस्रो तहका नेताहरूले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने पुनले बताए ।
माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका यादवले पार्टीको नेतृत्व गर्छ ‘ मात्रै भनेर नहुने भन्दै त्यहीअनुसारको विचार चाहिने बताएका छन् । जनार्दन शर्माले पार्टी नेतृत्वका विषयमा राख्दै आएको धारणा लक्षित गर्दै यादवले भने, ‘अब नेतृत्व कुनै व्यक्तिले म गर्छ‘ भनेर मात्रै हुँदैन, त्यसअनुसारको विचार चाहियो, सबैले मान्य नेता चाहियो, नेतृत्व गर्ने क्षमता र कुशलता हाम्रो पार्टीमा अहिले अरूमा छैन, अहिले साथीहरूले म नेतृत्व गर्छ‘ भनेर हुँदैन, प्रचण्डकै नेतृत्वमा सबै हिँड्नुपर्छ ।’
जनार्दन बोक्ने सुदन किराती
जनार्दननिकट मानिने माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुदन किरातीले पछिल्लो पार्टी केन्द्रीय समितिको निर्णयको स्पिरिटअनुसार पार्टीलाई अगाडि बढाउन नसकिएको टिप्पणी गरे । विभिन्न चारबुँदे सर्त अगाडि सार्दै उनले सोही सर्तका आधारमा पार्टी अगाडि बढाउनुपर्ने मागसमेत नेतृत्वसँग गरे । पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अभियान तीव्र बनाउनुपर्ने किरातीको पहिलो सर्त छ । शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुनुपर्नेसमेत उनको माग छ ।
त्यस्तै, प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिका विरुद्ध सशक्त वैचारिक प्रतिवादको आवश्यकता पनि रहेको किरातीको भनाइ छ । किरातीले अधिवेशनबाट पार्टी भाग्न खोजेको संकेत गर्दै अधिवेशन नै नगरेपछि पार्टीमा विधि निर्माण नहुने जिकिर गरे । उनले चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्न‘पर्ने भन्दै नेतृत्व परिवर्तनको विकल्प नरहेको बताउन थालेका छन् ।
राजधानी दैनिकबाट