काठमाडौँं । नेकपाको एकता भंग गर्ने सम्बन्धमा सर्वोच्च अदालतको फैसलाप्रति आफू सहमत नरहेको स्पष्ट पार्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले तर त्यसलाई मान्ने बताएका छन् । बुधबार संसद बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘न्यायालयले भनेको मान्नु पर्छ, मान्नै पर्यो । सहमति-असहमति आफ्नो कुरा छ, त्यहि भएर त पुनरावेदन वा पुनरावेदनमा जान्छन् । म चाहिँ फैसलामा सहमत छैन ।’
जसपालाई लिएर सरकार बनाउने बारे कुरा भइरहेको भन्ने विषयमा आफूलाई जानकारी नै नरहेको उनले बताए । तत्कालीन नेकपाको प्रचण्ड-नेपाल खेमाका एमाले सदस्यहरु वर्तमान सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हामी पार्टीमा छलफल गर्छौँ । पार्टी, आन्दोलन, सरकार कसरी लैजाने ? जनताको विश्वास कसरी जित्ने, अरु पार्टीसँगको सम्बन्ध कस्तो हुने भन्नेबारे छलफल हुन्छ । विमत्तिबारे विस्तृति छलफल हुन्छ । छलफल, बहस, विवाद नै लोकतान्त्रिक पार्टीको विशेषता हो ।’
उनले छलफल, बहस र विवादबाट कहिल्यै नडराउने बताए । एमालेको केन्द्रीय समिति बैठक बोलाउने बारे केही थाहा नभएको बताएका उनले सरकार गिराउन लागेको भन्ने आरोपबारे आफूलाई जानकारी नभएको दाबी गरे । उनले भने, ‘उनले खै मलाई त थाहा छैन । सरकारबारे कुरै भएको छैन ।’