काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वाम सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव गरेका छन्। नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकमा यस्तो प्रस्ताव गरेका हुन्।
एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ। 'एमालेको सदस्य संख्याको आधारमा सरकार पुननिर्माण गर्न नसकिने भएकाले माओवादी केन्द्रसँग मिलेर वामपन्थी सरकार संयुक्त सरकार निर्माण गर्न सम्भव छ,' गौतमको प्रस्तावमा भनिएको छ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको बैधानिकता अन्त्य हुने गरी पार्टीको नाम सम्बन्धि मुद्दामा फैसला दिएपछि नेकपा एमाले र माओवादी केन्द्र विधिवत रुपमा पुरानै अवस्थामा पुगेका छन्। त्यसअघि नेपाल कम्युनिस्ट पार्टी भित्र प्रष्ट रुपमा दुई धार देखिएपछि गौतमले मध्यमार्गी धार समातेका थिए।