ओलीले बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरे : भीम रावल

ओलीले बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरे : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा फुटाउन सफल भएका केपी शर्मा ओली अहिले एमाले पनि फुटाउन लागिपरेको आरोप लगाएका छन्‌। माधव नेपाल पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘ओलीले पहिले नेकपा फुटाए, अहिले एमाले फुटाउन खोज्दैछन्, पार्टी विधानविपरीत गुटका मान्छे बोलाएको केन्द्रीय कमिटी विस्तार गरेको छन्, बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरे।’

पार्टी एकताबद्ध गर्न फागुन २८ गते गरेको निर्णय फिर्ता लिनुपर्ने, तर ओलीले यो आग्रह नसुनेको रावलले बताए। 'त्यो निर्णय फिर्ता लिनुस्‌ भन्दा उहाँले हाम्रो कुरा सुन्नुभएन, उहाँले आफूले गरेको निर्णय फिर्ता हुँदैन भनिराख्नुभयो,’ उनले थपे।

संसद पुनःस्थापना भएपछि ओलीलाई चिन्ता भएको आरोप लगाए। ‘सर्वोच्च अदालतले आफ्नै निर्णयको विपरित निर्णय गरिदियो, निवेदकले माग्दै नमागेको विषयमा निर्णय गरेका छ, ओलीले बालुवाटारमा गुटको खेल खेलिरहेको छन्‌,’ रावलले भने।

ओली गुटले बालुवाटारमा बोलाएर गरेको निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने उनले बताए। ‘ओली आफैँले पार्टीको विधान र संविधान मिच्नुभएको छ, उहाँले अझै हामीलाई स्पष्टीकरण सोध्ने रे१’ रावलले भने, ‘संविधान र पार्टीको विधान विपरीत कदम चालेकोमा उहाँलाई हामी नै प्रश्न गर्छौं।’