रेशम चौधरी छुटाउने आन्दोलनमा गृहमन्त्रीको ऐक्यबद्धता

रेशम चौधरी छुटाउने आन्दोलनमा गृहमन्त्रीको ऐक्यबद्धता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाबारे वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। थारु कल्याणकारी सभा र थरुहट-थारुवान् संयुक्त संघर्ष समितिको आह्वानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्नामा बसेका थारु अगुवालाई भेट्न बिहीबार थापा माइतीघर पुगेका छन्।

गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताए। त्यसका लागि सरकारले छिट्टै वार्ता टोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्ना रोकेर वार्ता टोली बनाएर आउन उनले आग्रह गरे। उनले आजैको मन्त्रिपरिषद् बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्याउने प्रतिवद्धता समेत जनाए।

उनले टीकापुर घटनाका कतिपय विषयहरू राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानुनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताए। पूर्वसांसद रुक्मणि चौधरीले धर्नाको पाँचौ दिनमा गृहमन्त्री आफैं आएर मागको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन्।

उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखिएको बताइन्। उनले थारु कल्याणकारी सभा र थरुहट-थारुवान संयुक्त संघर्ष समितिको नाममा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरेमा मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन्।

थारु अगुवाहरूले २०७२ साल भदौ १० गते भएको टीकापुर घटनामा फाैजदारी मुद्दा लागेकाको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरूको रिहाइ माग गर्दै आइतबारदेखि माइतीघरमा धर्ना दिइरहेका छन्।