काठमाडाैं। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेता मान्न तयार देखिएका छन् ।
नेकपा एमालेले सदस्यता नवीकरण गर्न र उनलाई एमालेको सक्रिय राजनीतिमा फर्काउन आनाकानी गरिरहेका बेला ती दुई दलका शीर्ष नेतृत्वबाटै भण्डारीलाई नेतृत्वमा आउन अनौपचारिक प्रस्ताव पठाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सचिवालयले समेत भण्डारीलाई यी दुवै पार्टीमा नेतृत्व दिन तयार रहेको सन्देश पठाइसकिएको बताएको छ । भण्डारीको निजी सचिवालयले समेत शीर्ष नेता तहबाटै नेतृत्वका लागि ठाउँ खाली गरिदिने सन्देश आएको बताएको छ ।
यी दुवै पार्टीका नेताहरूले औपचारिक फोरममा समेत भण्डारीलाई नेतृत्वमा स्थापित गर्न तयार रहेको सन्देश दिइसकेका छन् । बुधबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा एमालेले गरेको निर्णय अलोकतान्त्रिक र वामपन्थी आचरणविपरीत भएको भन्दै आफूहरू त्यस्तो नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।
माओवादी अध्यक्ष प्रचण्डकै शैलीमा अभिव्यक्ति दिँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको निर्णयले जनताको बहुदलीय जनवादको खिल्ली उडाइएको दाबी गरे । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले निषेधको नीति लिएकाले आफूहरूले गरेको विद्रोहलाई विद्या भण्डारी प्रकरणले प्रमाणित गरेको पनि दोहो¥याए ।
एमालेको निर्णयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी चाहना हावी भएको र आफूहरूले त्यस्तो नगर्ने बताइरहेका प्रचण्ड माधवले भण्डारी तयार भए एकीकृत कम्युनिस्ट पार्टीको नेता मान्न आफूहरू तयार रहेको बताइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले विद्यालाई सन्तुलनकारी नेतृत्व भएको बताउँदै आएका छन् । आफूनिकट नेताहरूसँग प्रचण्डले भन्ने गरेका छन्– ‘साझा नेताको नेतृत्वमा वाम आन्दोलन ध्रुवीकरण गर्नु जरुरी छ ।’
प्रचण्डको सन्देश लिएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भण्डारी निवास भंगालमै पुगेर भेटिसकेका छन् । नेकपा नै ब्युँताउने योजनाअनुरूप भएको भेटमा भण्डारी राजी भएको खण्डमा ओलीबाहेकका नेकपाकालीन वामपन्थी एकठाउँमा आइपुग्ने दाबी श्रेष्ठले गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित धेरै नेताले भण्डारी तयार भए आफूहरूले नेता मान्ने र एकीकृत समाजवादीको छातामुनि सबैलाई गोलबन्द गर्न सजिलो हुने बताइरहेका छन् ।
वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्न र ओली शैलीलाई गलाउन भण्डारीको नेतृत्वमा अभियान सञ्चालन गर्नुपर्ने समेत नेपालनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘हामीले जनताको बहुदलीय जनवादको असल अभ्यास गरिरहेका छौं, एमालेभित्र जबज र माक्र्सवाद दुवैले स्थान नपाउने प्रस्टिइसक्यो, अब विद्याजीलाई हामीले साझा नेता बनाउनुपर्छ । उहाँले आफू तयार हुनुप-यो,’ पालनिकटका ती स्थायी कमिटी सदस्यले भने ।
सरकार ढाल्ने कांग्रेसको त्यो चेतावनी…
सत्ता साझेदार दल नेपाली कांग्रेसको संस्थागत दबाबका कारण नेकपा एमाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काउन अनिच्छुक देखिएको छ ।
भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेलगत्तैबाट यो कदम रोक्न कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक भेटेर र टेलिफोनमार्फत संवाद गरेको देउवाको सचिवालयको दाबी छ ।
देउवाले व्यक्तिगत रूपमा दिएको दबाबलाई एमाले अध्यक्ष ओलीले बेवास्ता गरेको बुझेपछि सभापति देउवाले आफ्ना पूर्वपदाधिकारी तथा वर्तमान महामन्त्रीद्वयलाई समेत लगाएर एमाले र अध्यक्ष ओलीमाथि दबाब बढाए ।
कांग्रेसले विद्यालाई राजनीतिमा आउन रोक्न सत्ता सहकार्य टुट्नेसम्मको चेतावनी दिएको कांग्रेसका जिम्मेवार नेताहरू बताउँछन् ।
‘देउवाजीले ओलीलाई व्यक्तिगत रूपमा दबाब दिने र पूर्वपदाधिकारी र वर्तमान महासचिवहरूले सार्वजनिक रूपमा बोल्ने रणनीतिपछि केही गलेको एमालेलाई सत्ता सहयात्राको त्रास देखाएपछि बल्ल निर्णय गर्न तयार भयो,’ नेपाली कांग्रेसका एक जना पदाधिकारीले भने ।
विद्यालाई एमालेले नेता बनाएर भित्र्याएसँगै वामपन्थी एकताको वातावरण बन्ने र आफ्नो सत्तारोहणको सपना अधुरो रहने भयले कांग्रेस सभापति शेरबहादुर देउवाले दबाब बढाएको अर्का एक नेता बताउँछन् ।
‘सत्ता हस्तान्तरणको नजिक दिनमा पुगेर ओली आफैंले रहस्यमय ढंगले विद्यालाई पार्टीमा स्पेस दिए भने अन्यथा नमाने हुन्छ,’ ती नेताले भने, ‘अहिले विद्यालाई रोक्ने काम कांग्रेसको सत्ता पर्खाइ ढुक्क बनाइदिन पनि हो ।’
नेकपा एमालेभित्र पोलिटब्युरो बैठकसम्म भण्डारीको पक्षमा खुलेकाहरूलाई पनि केन्द्रीय कमिटीसम्म पुग्दा धेरैको बोली बन्द भइसकेको थियो । ती विश्लेषकले भने, ‘अध्यक्षको संकेतले उम्लने र खुम्चने नेताहरू छन्, कांग्रेसलाई विश्वास दिलाएर उससँगको सहमतिको सत्ताभोग सकेपछि विद्यालाई पार्टीमा स्पेस दिएर वामपन्थी एकताको वातावरण बनाएर चुनावी माहौल सिर्जना गर्न पनि एमालेले सक्छ ।’
विद्या रोक्ने ‘काइते भाषा’
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णय भनी सार्वजनिक गरेको विज्ञप्तीमा घुमाउरो हिसाबले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘स्पेस’ दिएको देखिएको छ । पार्टी विज्ञप्तीमा स्पष्ट भाषामा ‘नवीकरण गरिएको सदस्यता खारेज’ वा ‘सदस्यता प्रदान नगरिने वा गर्न नसकिने’ भन्ने जस्ता वाक्यांश उल्लेख गरिएको छैन ।
‘…यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ, यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ, त्यसकारण बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
यस निर्णयमा कतै पनि भण्डारीको सदस्यता नवीकरण नहुने या नवीकरण भएको भए खारेज गरिएको भनेर उल्लेख गरिएको छैन । एमालेले आफ्नो दृष्टिकोण मात्र उल्लेख गरेर भविष्यमा राजनीतिक व्याख्यामार्फत विद्यालाई फर्काउन बाटो खोलेको छ ।
एक जना राजनीतिक विश्लेषक भन्छन्–‘विज्ञिप्तका गोलमटोल भाषाले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउनु उपयुक्त नहुने भन्ने आशयका सुझाव उल्लेख हुनु भनेको भाषामा खेलेर सदस्यता सक्रिय गराउने ‘लुप होल’ हो यसैका आधारमा ओलीलाई मन लागेको दिन सदस्यता जाग्नसक्छ ।’