काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले एक महिनाका अवधिमा रवि लामिछानेको पक्षमा साढे २७ लाखभन्दा बढी जनताले हस्ताक्षर गरेको बताएका छन्।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले साउन ७ गतेसम्म एक महिनाको अवधिमा साढे २७ लाखभन्दा धेरैले हस्ताक्षर गरेको उनले बताए। उनले हस्ताक्षर अभियान आफूहरुले कुनै नयाँ काम नगरेर पूरानै शैली रहेको बताए। आफूहरु अदालतको विपरीत नगएको र अदालतको सम्मान नै गरिएको उनले बताए।
‘एक महिनाको अवधिमा, साउनको ७ गतेसम्ममा साढे २७ लाखभन्दा बढी जनताहरुले हस्ताक्षर गरिसक्नुभएको थियो । हामीले के भनिरहेका छौं भने यो हस्ताक्षर अभियानलाई नयाँ कुनै कार्य गरिरहेको छ भन्ने कुरा नबुझिदिनुस् यो पूरानै हो, तर गर्ने तरिका फरक हो । जसरी २०३७ सालमा शासन प्रणालीको विरुद्धमा जनमत संग्रह भएको थियो । त्यतिखेर पनि जनताको अभिमत बुझ्दै निर्वाचन गर्ने प्रक्रिया भएको थियो । त्यस्तै, अहिले हाम्रो हस्ताक्षर अभियान भनेको अभिमत र धारणा बुझ्ने अभियान हो,’– उनले भने ।
संसदीय छानविन समितिको प्रतिवेदनमा सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन भन्ने कुरा स्पष्ट लेखिएको उनले बताए । लामिछानेमाथि प्रतिशोध राखेर मुद्दा चलाइएको र कारागार पठाइएको उनले बताए । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले अहिले शक्तिको प्रदर्शन गरिरहेको उनको भनाइ छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो शक्ति हो । देशको चौथो ठूलो शक्तिको सभापतिलाई राजनीतिक प्रतिशोध साँध्नेगरी कारागार पठाइएको छ । शासन चलाउनु भनेको शक्तिको प्रदर्शन गर्नु होइन । जिम्मेवारीको बहन गर्नु हो । यहाँ सरकारमा भएका दलहरु जो दुईवटा दलहरुले सरकार चलाइरहेका छन् । उहाँहरुले शक्ति प्रदर्शन गरेर रवि लामिछानेलाई पूर्वाग्रह राखेर, प्रतिशोध साँधेर कारागार पठाउने काम भएको छ,’– उनले भने।
साथै, उनले पार्टी सभापति रवि लामिछानेको अपेक्षाअनुसार हस्ताक्षर अभियानलाई निरन्तर राखिने बताए । हस्ताक्षर अभियान सबै नेपालीको हात हातमा पुगेस् र एउटा व्यक्तिमाथि राज्यले कति प्रतिशोध साधेको छ भन्ने सबै जनताले बुझुन् भन्ने लामिछानेको चाहना रहेको पनि उनले बताए ।
‘हामीले हिजोमात्रै भैरहवामा संसदीय दलको बैठक बसेका छौं । पार्टी सभापतिको अपेक्षा चाहिँ यो हस्ताक्षर अभियान सबै नेपालीहरुको हात–हातमा पुगोस् । उहाँहरुले बुझुन् कि राज्यले एउटा व्यक्तिमाथि कति प्रतिशोध साँधेको छ भन्ने कुरा सबै जनताले बुझुन् भन्ने अपेक्षाअनुसार हामी यो हस्ताक्षर अभियानलाई निरन्तर राख्ने प्रक्रियामा अगाडि बढेका छौं,’– उनले भने ।