काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् । अहिले केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल हुँदैछ । बालुवाटारमा हुने छलफलमा कांग्रेसबाट सभापति देउवाका अलावा गृहमन्त्री रमेश लेखकपनि सहभागी हुनेछन् ।
एमालेबाट भने प्रधानमन्त्री ओलीसहित उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु सहभागी हुनेछन् । मन्त्रीहरु हेरफेरको लागि कांग्रेस तयार नभएको बताईन्छ । तर, एमालेले भने कम्तिमा चार जना मन्त्रीहरु फेर्ने तयारी गरेको छ।
उता, सरकारमा सहभागी मधेशवादी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरुको सेट नै फेरिने भएको हो । लोसपाबाट अहिले शरदसिंह भण्डारी श्रममन्त्री छन् ।
उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने भएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्लको नाम बालुवाटारमा पठाईसकेका छन् । यस्तै, दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको अशोक राई नेतृत्वको जसपाले पनि आफ्ना दुवै जना मन्त्रीहरु फिर्ता बोलाउने भएको छ ।
अहिले खानेपानी मन्त्रीको जिम्मेवारीमा प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारीमा नवलकिशोर साह सुडी छन् ।
उनीहरु दुवै जनालाई एक वर्षको लागि मात्रै सरकारमा पठाएको जसपाको भनाई छ । अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा जसपाले यादवको ठाउँमा प्रमुख सचेतकको जिम्मेवारीमा रहेका डा. वीरेन्द्र प्रसाद महतो र सुडीको ठाउँमा रञ्जु झालाई पठाउने भएको छ । मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष राईले प्रधानमन्त्री ओलीसँग आजै छलफल गर्ने बुझिएको छ ।