काठमाडौं। नेकपा (माओवादी केन्द्र)को अन्तरकलह फेरि सतहमा आएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरकलह सार्वजनिक रूपमै छताछुल्ल भएको हो। अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको अन्तरसंघर्ष बाहिर आएपछि नेता-कार्यकर्ता नै विभाजित बनेका छन्।
शर्माले लामो समयदेखि पार्टीको नेतृत्व हस्तान्तरणको विषय उठाउँदै अध्यक्ष प्रचण्डको आलोचना पनि गर्दै आएका छन्। एउटै व्यक्ति साढे तीन दशकम्म नेतृत्वमा रहँदा माओवादी पार्टी सकिने अवस्थामा पुगेको शर्माको दाबी छ।
तर, अध्यक्ष प्रचण्डसहित उनी निकटका नेताहरू भने त्यो मान्न तयार छैनन्। यसअघि दुवै नेताले एक-अर्काविरुद्ध खुला रूपमा आरोप-प्रत्यारोप लगाउने गरे पनि अहिले भने नेता-कार्यकर्ता नै भिड्ने अवस्था आएको हो।
शर्माले हालै एक सार्वजनिक मञ्चबाट प्रचण्ड समेतलाई लक्षित गरी मनमोहन अधिकारीबाहेक हालसम्मका सबै कम्युनिष्ट प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएको गम्भीर आरोप लगाएका थिए। त्यसपछि दुवै पक्ष एक-अर्काविरुद्ध खुला बहसमा उत्रिएका हुन्।
आफू लक्षित गम्भीर आरोपपछि प्रचण्डले पनि शर्मालाई लक्षित गरी प्रतिक्रियावादीको उक्साहटमा पार्टी विभाजनको खेलमा लागेको आरोप लगाएका थिए। प्रचण्डको अभिव्यक्तिपछि शर्माले विशेष महाधिवेशनको माग गरेका छन्। पार्टी फुट्छ भन्ने हल्ला नेतृत्वकै तर्फबाट फैलाइएको उनको आरोप छ।
अध्यक्ष र उपमहासचिव नै आरोप-प्रत्यारोपमा उत्रिएपछि नेता-कार्यकर्ताले पनि बहस छेडेका हुन्। मुख्य नेतृत्वमाथि ‘आक्रमण’ भएको भन्दै संस्थापन पक्षले सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डको उद्धरण अभियान चलाएका छन्।
‘हामीले सुधारवाद र उदारवाद होइन, वामपन्थ र क्रान्तिकारी लाइन दह्रोसँग पक्रिने संकल्प गरेका छौं। यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको संकल्प हो,’ प्रचण्डको तस्वीरसहित सामाजिक सञ्जालमा अभियानै चलेको छ। यसैगरी, शर्मा पक्षका नेता-कार्यकर्ता पनि उनको बचाउ गर्दै अध्यक्ष प्रचण्डको आलोचना गरिरहेका छन्।
उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति प्रश्न उठाएपछि माओवादीमा केन्द्र्रदेखि तल्लो तहसम्मै ध्रुवीकरण देखिएको छ। संस्थापन पक्षले अध्यक्षको बद्नाम गर्ने काम भएको भन्दै शर्माविरुद्ध खनिरहँदा अर्को पक्षले प्रतिवाद गरिरहेको छ।
अध्यक्ष प्रचण्डनिकट मानिने केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशीखा)ले आफ्नै नेतृत्वलाई बद्नाम गरेर पार्टी र आन्दोलन बलियो नहुने बताएका छन्। पार्टीभित्रका अन्तरकलहले अन्ततः प्रतिक्रयावादीलाई नै फाइदा हुने उनले बताए। क्रान्तिकारी विचार र सिद्धान्तमा आधारित रहेर आन्दोलनलाई अगाडि बढाउने क्षमता भएको व्यक्ति नै नेतृत्वमा हुनुपर्ने अध्यक्ष प्रचण्डनिकट सापकोटाको भनाइ छ।
‘अवसरवादको कुनै विचार, राजनीति, निष्ठा र सिद्धान्तको सीमा हुन्न। यो सीमारहित मान्छे आकृतिको स्वादे जिब्रो हो। यो जिब्रोले पाएसम्म खान्छ र नपाएको दिन लापरबाह बमिट गर्छ,’ उपमहासचिव शर्मालाई संकेत गर्दै सापकोटाले लेखेका छन्, ‘नेतृत्व भनेको क्रान्तिकारी विचार र सिद्धान्तमा आधारित रहेर आन्दोलनलाई अगाडि बढाउने क्षमता हो। आफ्नै नेतृत्व बदनाम गरेर न पार्टी बलियो बन्छ, न त आन्दोलन नै । यसबाट फाइदा त अन्ततः प्रतिक्रयावादीले नै लिने हो,’ उनले उल्लेख गरेका छन्।
यसैगरी, उपमहासचिव शर्मानिकट नेता सुदन किराँतीले पार्टीमा प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोपको प्रतिवाद गर्नुपर्ने बताएका छन्। नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्नुपर्ने उनको भनाइ छ। ‘प्रश्न गर्नेलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाइराख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौं।’
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीको मूल स्पिरिटलाई दुरुपयोग गरिएको बताएका छन्। नेकपा (माओवादी केन्द्र)को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक कुराकानीमा उहाँले पार्टीमा नेतृत्वबारे जथाभावी बोल्ने र नेतृत्वको खण्डन गर्ने काम पनि भएको टिप्पणी गरेका हुन्।
माओवादीले विचार र राजनीतिलाई केन्द्रमा राखेर विधि, पद्धति र आन्दोलन सञ्चालन गरिरहेको उनको दाबी छ। ‘पार्टीको मूल स्पिरिटलाई दुरुपयोग पनि गरिएको छ।
आफूखुसी जहाँ पायो त्यहीँ बोलिदिने, नेतृत्वको बारेमा खण्डन गर्ने, पार्टीबारे बोल्ने, आफ्नो सहयोद्धाबारे जे पनि बोलिदिने, जे पनि टिप्पणी गरिदिने, पार्टीको स्वीकृत कार्यदिशाविपरीत पनि बोलिदिने काम भएको छ,’ उनले भनेका छन्, ‘माओवादी आन्दोलन स्वयंसेवी आन्दोलन हो । विचार, राजनीति र कार्यशैली मिल्नेहरू सँगै रहेर देश र जनताको हितमा काम गर्ने आन्दोलन हो, यसलाई नै आधार मानेर बहस र छलफल चलाउनुपर्छ।’
माओवादीले आत्मअनुशासन स्वेच्छिक केन्द्रित हुनेमा बढी जोड दिएको उनको भनाइ छ। ‘तपाईं असाध्यै जित्नुभयो भने पनि हौसिएर आफ्नो धरातल छोड्ने, आफैँलाई केन्द्रित ठान्ने र अब कोही पनि छैनजस्तो विचलन आउँछ। त्यसलाई हामी वाम विचलन भन्छौं,’ उनले भनेका छन्, ‘अर्को हार्दा चाहिँ भाग दौड हुन्छ । अपजस अर्कोको टाउकोमा हाल्ने काम हुन्छ । त्यसलाई हामी दक्षिणपन्थी विचलन भन्छौं।’
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने बताएका छन्।
शर्माले दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेप्रति सचेत हुन आग्रह गरेका छन्। पार्टीबारे उठेका भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न उनको भनाइ छ।
पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट आर्जेको ऊर्जा तथा सरकारसँग दुई बुँदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्नुपर्ने शर्माले बताए। ‘यतिबेला सिंगै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन्।
यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो,’ उनले भनेका छन्, ‘गत वर्ष सबै प्रदेशमा भएको परामर्श बैठकपश्चात् केन्द्र्रीय समिति बैठकमा भएको बहस र निर्णयअनुसार असारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्र्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्धत पुग्नेछ । विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ।’