काठमाडाैं। बेबीडल आर्चीलाई इन्स्टाग्राममा पछ्याउनेहरू दोबर हुँदै केही दिनमै १४ लाख पुगे। उनका 'बोल्ड' तस्बिर र भिडिओहरू हेर्न दैनिकजसो नयाँ प्रशंसकहरू त्यसमा जोडिन थाले।
भारतमा 'भाइरल' बन्न पुगेको एक भिडिओमा उनी रातो सारीमा देखिन्छिन्। त्यसमा उनी एक रुमेनियाली गीत 'दामे उन् गर्'मा नाचिरहेकी हुन्छिन्। अर्कोमा उनी अमेरिकी वयस्क चलचित्र कलाकार केन्ड्रा लस्टसँग फोटो खिचाएकी देखिन्छिन्।
ती भिडिओ र तस्बिरले उनलाई रातारात चर्चामा ल्याइदियो। उनको नाम गुगल सर्चमा 'ट्रेन्डिङ' हुन थाल्यो भने सोशल मिडियामा 'मीम' र 'फ्यान पेज'हरू देखिए।
खबरहरूमा उनी अमेरिकी पोर्न उद्योगमा आबद्ध हुने अड्कलबाजी गरिए। त्यो भारतको उत्तरपूर्वी राज्य असमबाट पहिलो पटक हुने भनियो।
मूलधारका सञ्चारमाध्यले समेत उनलाई "इन्फ्लुअन्सर"का रूपमा चिनाउँदै उनीप्रतिको उत्सुकता बढाए। कैयौँले उनको 'प्रोफाइल' लेख्ने प्रयास गरे। त्यस बेला अनलाइन माध्यममा धेरै खोजिएको शब्दावली बनेको थियो- बेबीडल आर्ची को हुन्?
तर सनसनी मच्चाएको त्यस 'भाइरल' अकाउन्टपछाडिकी महिला भने कुनै वास्तविक थिइनन्।
सो इन्स्टाग्राम अकाउन्ट नक्कली भए तापनि त्यसले प्रयोग गरेको अनुहारमा भने वास्तविक महिलासँगको अनौठो समानता थियो।
ती असमको डिब्रुगढ सहरीकी एक गृहिणी हुन्, जसलाई हामी यहाँ साँची भन्ने छौँ।
उनका भाइले प्रहरीमा उजुरी दर्ता गरेपछि यसको सत्यतथ्य बाहिरियो। अनि साँचीका पूर्वप्रेमी प्रतिम बोरा पक्राउ परे।
यस अनुसन्धानको नेतृत्व गरिराखेकी वरिष्ठ प्रहरी अधिकृत सिजल अग्रवालले बीबीसीसँग कुरा गर्दै बताएअनुसार साँची र बोराबीच झगडा भएको थियो अनि उनले एआईको प्रयोग गरी उनीजस्तो देखिने तस्बिर बनाएर उनीमाथि "शुद्ध बदला" लिए।
बोरा एक मेकानिकल इन्जिनिअर हुन् र उनी स्वयंको अग्रसरताले आर्टिफिशल इन्टेलिजन्स (एआई) नक्कली प्रोफाइल बनाउन साँचीको व्यक्तिगत तस्बिरहरू प्रयोग गरेको अग्रवालले बताइन्।
बोरा यतिखेर हिरासतमा छन् र हालसम्म उनले कुनै बयान दिएका छैनन्। बीबीसीले उनको परिवारलाई सम्पर्क गरेको छ र उनीहरूको जबाफ आएपछि यस सामग्रीमा समावेश गर्ने छ।
बेबीडल आर्चीको खाता सन् २०२० मा सिर्जना गरेर सन् २०२१ को मे महिनामा यसमा पहिलो सामग्री अपलोड गरिएको थियो। प्रारम्भिक तस्बिरहरू उनका वास्तविक तर केही बदलिएका तस्बिरहरू थिए, अग्रवालले भनिन्।
"समयक्रममा बोराले एआई संस्करण सिर्जना गर्न च्याटजीपीटी र डिजिनजस्ता उपकरणहरू प्रयोग गरे। त्यसपछि उनले उक्त ह्यान्डललाई डीपफेक तस्बिर र भिडियोहरूले भरिदिए।"
प्रहरी अधिकृत अग्रवालका अनुसार उक्त अकाउन्टले गत वर्षदेखि 'लाइक'हरू पाउन थालेको थियो भने यस वर्षको एप्रिलदेखि यसले ध्यान पाउन थालेको थियो।
गत ११ जुलाईको रात साँचीको परिवारले प्रहरीलाई दुई ससाना अनुच्छेदसहितको उजुरीमा प्रमाणका रूपमा केही तस्बिर र भिडियोका प्रतिलिपि राखिएका थिए।
अग्रवालले त्यस उजुरीमा कसैको नाम नलिइनुमा उनीहरूलाई त्यसपछाडि हुन सक्ने व्यक्तिबारे थाहा नहुनु रहेको बताउँछिन्।
बेबीडल आर्ची प्रहरीका लागि अपरिचित नाम थिएन। अग्रवालका अनुसार प्रहरीले समाचार र कमेन्टहरू समेत देखेको थियो, जसमा ती महिला एआईद्वारा सिर्जित हुन् भन्ने अनुमान गरिएको थियो।
तर यो वास्तविक व्यक्तिमा आधारित रहेको हुन सक्ने भेउ उनीहरूलाई थिएन।
उजुरी दर्ता गरेपछि प्रहरीले अकाउन्ट बनाउने व्यक्तिको विवरण माग्दै इन्स्टाग्रामलाई पत्र लेख्यो।
अग्रवाल भन्छिन्, "इन्स्टाग्रामबाट जानकारी प्राप्त गरेपछि हामीले साँचीलाई के उनी प्रतिम बोरा नाम भएका कुनै व्यक्तिलाई चिन्छिन् भनेर सोध्यौँ। उनले पुष्टि गरेपछि हामीले छिमेकी जिल्ला तिनसुकियामा उनको ठेगाना पत्ता लगायौँ। हामीले उनलाई १२ जुलाईको साँझ पक्राउ गर्यौँ।"
अग्रवालका अनुसार प्रहरीले "उनको ल्यापटप, मोबाइल फोन र हार्ड ड्राइभ अनि ती व्यक्तिले उक्त अकाउन्टलाई मनिटाइज्ड गरेको समेत हुनाले ब्याङ्क कागजातहरू समेत जफत गरेको छ।"
"लिङ्कट्रीको सो अकाउन्टमा ३,००० सब्स्क्राइबर थिए र हामीलाई उनले त्यसबाट १० लाख रुपैयाँ कमाएको विश्वास छ। उनले पक्राउ पर्नुभन्दा पाँच दिनअघि मात्र तीन लाख रुपैयाँ कमाएको हामीलाई विश्वास छ," उनले थपिन्।
अग्रवाल साँची "अत्यन्तै विचलित रहेको तर अब उनी र उनको परिवारले मनोपरामर्श पाइरहेको अनि त्यसले उनीहरूलाई राम्रो गरिरहेको" बताउँछिन्।
यस्तो हुनबाट रोक्ने कुनै उपाय नभए तापनि "यदि हामीले पहिले नै कदम चालेका भए यसलाई यति धेरै चर्चामा आउनबाट रोक्न सक्थ्यौँ," अग्रवाल भन्छिन्।
"तर साँचीको सामाजिक सञ्जालमा उपस्थिति नरहेकाले उनलाई यसबारे थाहा थिएन। उनको परिवारलाई समेत त्यस अकाउन्टबाट ब्लक गरिएको थियो। यो भाइरल भएपछि मात्र उनीहरूलाई थाहा भयो," उनले थपिन्।
मेटाले यस विषयमा बीबीसीका प्रश्नहरूको जवाफ दिएको छैन। तर उसले सामान्यतः नग्नता वा यौन सामग्री पोस्ट गर्न अनुमति दिँदैन।
गत महिना प्रकाशित सीबीएसको समाचारअनुसार यसले वास्तविक व्यक्तिहरूको तस्बिर प्रयोग गरेर स्पष्ट यौनिक 'डीपफेक'हरू बनाउन प्रयोग गरिने एआई उपकरणहरूको प्रचार गर्ने कैयौँ विज्ञापनहरू हटाएको छ।
बेबीडल आर्चीको इन्स्टाग्राम अकाउन्टमा २८२ पोस्टहरू थिए। ती अब सार्वजनिक रूपमा उपलब्ध छैनन्।
यद्यपि सामाजिक सञ्जालमा उनका तस्बिर र भिडिओ छरपस्ट छन्। एउटा इन्स्टाग्राम खातामा ती सबैजसो भएझैँ देखिन्छ। बीबीसीले मेटालाई उनीहरूले यसबारेमा के गर्ने योजना छ भनेर सोधेको छ।
एआई विशेषज्ञ तथा अधिवक्ता मेघना बलले साँचीमाथि भएको घटना "भयानक भए पनि रोक्न लगभग असम्भव भएको" बताएकी छिन्।
उनी अदालत जान सक्छिन् र आफूबारे प्रकाशित सबै सामग्री हटाउन पाउने आफ्नो अधिकार माग्न सक्छिन्। अदालतले उनको नाम उल्लेख भएका समाचारहरू हटाउन आदेश दिन सक्छ। तर इन्टरनेटबाट त्यहाँ भएका सबै कुराहरू मेटाउन गाह्रो छ।
उनले साँचीलाई भएको घटना सधैँ महिलाहरूसँग भइरहने भन्दै त्यहाँ उनीहरूको तस्बिर र भिडियोहरू बदलाको रूपमा फैलने गरेको बताउँछिन्।
"एआईका कारणले गर्दा यस्तो गर्न अब निकै सजिलो छ। तर यस्ता घटनाहरू अझै पनि हामीले ठानेजस्ता सामान्य छैनन् वा समाजले हेयका दृष्टिले हेर्ने कारण कमै मात्रामा यीबारे उजुरी पर्ने गरेको हुन सक्छ वा लक्षित व्यक्तिहरूलाई यस अवस्थामा जस्तै त्यसको बारेमा थाहा नहुन सक्छ," बल भन्छिन्।
अनि यो हेर्ने मानिसहरूलाई सामाजिक सञ्जाल प्ल्याट्फर्म वा साइबर अपराध पोर्टलमा गुनासो गर्न प्रोत्साहन नभएको उनी थप्छिन्।
बोराविरुद्धको उजुरीमा प्रहरीले यौन उत्पीडन, अश्लील सामग्रीको वितरण, मानहानि, प्रतिष्ठामा आँच पुर्याउने जालसाजी, उस्तै व्यक्तित्वको भान पारेर ठगी गर्ने र साइबर अपराधसँग सम्बन्धित कानुनका धाराहरू प्रयोग गरेको छ। दोषी पाइएमा बोरालाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ।
हालैका दिनहरूमा सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको यस विषयले त्यस्ता मुद्दाहरूलाई सम्बोधन गर्न कडा कानुनको माग गरेको छ।
बलले यस्ता मुद्दाहरू हेर्नका लागि पर्याप्त कानुनहरू रहेका तर 'जेनेरेटिभ एआई' कम्पनीहरूसँग व्यवहार गर्न नयाँ कानुनहरू बनाउनुपर्ने आवश्यकता भए-नभएको हेर्नुपर्ने ठान्छिन्।
"तर हामीले डीपफेकहरू सबै नै खराब नहुने बुझ्नुपर्छ र कानुनहरू सावधानीपूर्वक बनाउनुपर्छ किनभने त्यसलाई अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने अस्त्र बनाउन सकिन्छ।"