चक्रे मिलन कम्तीमा ७ दिन प्रहरी हिरासतमै

चक्रे मिलन कम्तीमा ७ दिन प्रहरी हिरासतमै

काठमाडौं। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन्। गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो।

राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो। बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो।

पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन्।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो। पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।

‘विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो’, एसपी चन्दले भने ।