मिल्ने र निल्ने होडमा कम्युनिस्ट नेतृत्व

मिल्ने र निल्ने होडमा कम्युनिस्ट नेतृत्व

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र नेताहरूले राख्दै आएका फरक विचारले नेतृत्व तहमा दूरी बढाएको छ भने कार्यकर्ता पंक्तिमा अन्योल बढेको छ।

नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच राजनीतिक, सांगठनिक र समसामयिक विषयमा समेत फरक विचार देखिन थालेको देखिएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीमा पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विचार र कार्यशैली नमिलेको अवस्थामा घस्रिँदै सहयात्रा भइरहेको छ। ‘मन नमिल्दा नमिल्दै घिस्रिएर न कहीँ पुगिन्छ, न यो पार्टी बन्ने बाटोमा नै छ, यहाँ जुधेर कार्यकर्तालाई तितरवितर बनाउनुभन्दा त एउटा निकास निकाल्नु नि ? बसे पनि हिँडे पनि एक पदाधिकारी भन्छन्, ‘हाम्रो पार्टीको विवाद त ‘बाच्छोभन्दा डुक्राइ ठूलो’ भनेजस्तो मात्रै भयो।

नेकपा माओवादी केन्द्रको शुक्रबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिन्न मतप्रति झन् कठोर भएर प्रस्तुत भएका छन्।

प्रचण्डले पार्टीभित्र राजनीतिक बहसभन्दा पनि नेतृत्वको विरोधमा ध्यान गएको आरोप लगाए। ‘पार्टीभित्र राजनीतिक तथा सांगठनिक एजेन्डामा भन्दा पनि आफूलाई केन्द्रमा राखेर नेतृत्वको बदख्वाइँ गर्ने काम भएको भन्दै पार्टीले यस्ता गतिविधि सहेर बस्न नसक्ने’ चेतावनी दिएका छन्।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले मिडियामा गएर बोल्ने र गुटगत गतिविधि गर्नेहरूले पार्टीको हितभन्दा आफूलाई मात्रै केन्द्रमा राखेर पार्टी नबन्ने भन्दै पार्टी बनाउने काम अध्यक्षको मात्र नभएर सबैको साझा विषय भएकामा जोड दिएका छन्।

प्रचण्डको यस अभिव्यक्तिलाई उपमहासचिव जनार्दन शर्मा लक्षित भएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । शर्माले पार्टी नेतृत्वको कार्यशैलीमा आक्रामक भएर प्रतिक्रिया दिँदै आएका छन् ।

शर्माले नेतृत्वको कार्यशैली अपारदर्शी भएको त पटकपटक आरोप लगाइरहेका छन् । माओवादीको स्थायी कमिटी बैठकमा आज (शनिवार)बाट पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरू बोल्ने क्रममा पार्टीभित्रको विवाद कुन बाटोमा जान्छ भन्ने प्रस्ट हुने बैठकमा सहभागी पदाधिकारीले बताए ।

नेकपा माओवादी केन्द्रले उपराष्ट्रपति बनिसकेका नेता नन्दकिशोर पुनलाई पार्टी जिम्मेवारीमा फर्काएदेखि एकता प्रक्रियाबाट आएर सचिवको जिम्मेवारी पाएका गंगानारायण श्रेष्ठको विषयमा समेत बैठकमा छलफल गर्ने तयारी स्थायी कमिटी सदस्यहरूले गरेका छन् । अझ भित्रभित्रै नेकपा एकीकृत समाजवादीलगायतका अरू दलसँग भइरहेका वार्ता र त्यसको प्रगति तथा सम्भावित एकता र त्यसपछिका जिम्मेवारीको विषयमा पनि कुरा उठ्ने एक स्थायी कमिटी सदस्यले बताए ।

माधवको निसानामा झलनाथ

नेकपा एकीकृत समाजवादीभित्रको विवादमा सम्मानित नेता झलनाथ खनाल निसानामा परेका छन् । एमालेबाट विद्रोह गर्नु गलत भएको र विद्रोहको औचित्य पुष्टि गर्न नसकेको विषय खनालले विगत डेढ वर्षयता निरन्तर उठाइरहेका छन् ।

केन्द्रीय समिति बैठक र महाधिवेशनमा वैचारिक रूपमै खनालले जबज नै बोकेर हिँड्ने उही कार्यशैली र सांगठनिक पद्धति बोक्ने भए एमालेबाट विद्रोहको के अर्थ ? भन्दै पार्टीकै फोरमहरूमा बोलिरहेका छन् । हालैको एउटा अन्तर्वार्ताको विषयलाई लिएर अध्यक्ष माधवकुमार नेपालले खनाललाई पार्टीबाट राजीनामा दिएर जान चेतावनी नै दिएका छन् ।

एकीकृत समाजवादीमा फरक मतलाई निषेध गरिएको यो पहिलो होइन, यसअघि नेतृत्वको कार्यशैली सुधारका लागि आवाज उठाउँदा अध्यक्ष नेपालका कोअर्डिनेसन केन्द्रकालका समकालीन नेता मुकुन्द न्यौपाने निसानामा परिसकेका छन् । अध्यक्ष नेपालको कार्यशैलीको विरोध गर्दा पार्टी गठन र सुरुवाती समयकी प्रभावशाली नेतृ रामकुमारी झाँक्री भूमिकाविहीनजस्तै छिन् । उनलाई अध्यक्ष नेपालले टिकटकमा भिडियो बनाएर बस्नुपर्ने अवस्थामा पु¥याइदिएका छन् ।

झलनाथ-वामदेव निकटताको अर्थ

नेकपा एमालेमा हुँदाका कुनै बेलाका शक्तिशाली नेता वामदेव गौतम लामो समय वैचारिक नेतृत्व स्वीकारेका झलनाथ खनालसँग नजिकिएका छन् ।

कम्युनिस्ट आन्दोलनमा देखिएको संकट निवारणका लागि एकताको प्रक्रियालाई तीव्र बनाउनुपर्छ भन्दै एकीकृत समाजवादीसँग जोडिएका गौतम पार्टीभित्र पनि अध्यक्ष नेपालभन्दा भिन्न समूहको नेतृत्व गर्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

नेपालनिकट नेताहरूले वामदेवलाई संगठन विभागको जिम्मेवारी दिन हुँदैन भन्दै अध्यक्षको कान भरेको भन्दै वामदेवले चर्को असन्तुष्टि जनाउँदै ‘संगठन विभाग वा चित्तबुझ्दो जिम्मेवारी नभए नेतृत्वको दास भएर वामदेव बस्दैन’ भन्ने सन्देश दिइसकेका छन् ।

अध्यक्ष नेपालको कार्यशैलीका कारण निसानामा परेका कार्यकर्ताहरू सम्मानित नेता खनालको छेउछाउ छन् तर खनालको कार्यशैलीले पीडितले न्याय नपाउने भएको भन्दै खनालको नेतृत्वमा गौतमले अन्तरपार्टी संघर्षमा न्याय दिनुपर्ने आवाज उठाइरहेका छन् ।

माओवादी र एकीकृत समाजवादीले कम्युनिस्ट पार्टीका नाममा निरंकुशता लादेको भन्दै नेकपा एमालेमाथि खनिइरहँदा आफूहरूभित्र भने झन् निरंकुशता बढेको प्रति मौन देखिएको अन्तरसंघर्षमा उत्रिएका नेता कार्यकर्ताहरू बताउँछन् । फरक मत र नेतृत्वको कार्यशैलीप्रतिको आलोचनालाई अनुशासनहीनता देख्ने र पार्टीबाट निस्कन चुनौती दिने शैली निरंकुशताको पराकाष्ठा हो । ‘पार्टी आफ्नो विर्ताजस्तो सम्झेर कम्युनिस्ट पार्टी बन्दैन,’ ती नेताले राजधानीसँग भने ।

माधव–प्रचण्ड लगातार संवादमा

आफ्ना पार्टीहरूभित्र चर्को अन्तरद्वन्द्व चल्दै गर्दा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने लगातार संवादमा छन् । दुई पार्टीलाई तत्काल एकता गर्नुपर्ने विषयमा प्रचण्डको जोडबल छ ।

नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धानले दायर गरेको मुद्दाले पारिरहेको प्रभावले सकारात्मक सन्देश नदिएकाले पनि एकता गरिदिए सजिलो हुने दुवै पार्टीको एउटा ठूलो तप्कालाई लागिरहेको छ । नेकपा एसका एक पदाधिकारी भन्छन्, ‘साथीहरू दिनकै एमाले फर्किरहेका छन्, बेलैमा संस्थागत रूपमा एमाले वा माओवादीसँग एकता गरिदिए बरु सजिलो हुन्थ्यो नत्र दिनदिनै गाह्रो भइरहेको छ ।’

पार्टी एकता तत्काल हुँदैन भन्दै भित्रभित्र प्रचण्ड र नेपालका निकट नेताहरूले प्रदेश तहसम्मकै व्यवस्थापनका विषयमा भित्रभित्रै गृहकार्य गरिरहेका छन्।

‘नेकपा एस र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबीच भएको एकताकै शैलीमा एकतामा हस्ताक्षर भयो भने मात्र हो अन्यथा नमाने हुन्छ, दुवै पार्टीभित्रको आन्तरिक मतभेदको तत्कालीन समाधानका लागि पार्टी एकता उपयुक्त हुने दुवै नेतालाई लागेको छ,’ प्रचण्डनिकट एक नेता भन्छन्, ‘मंसिरसम्ममा विशेष महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको टाइमलाइन एकताको महाधिवेशन हुन पनि सक्छ ।’

राजधानी दैनिकबाट