काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एकपछि अर्को राजनीतिक संकटमा छन् ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका नेपालको सांसद पद त निलम्बित छ नै संसदीय दलको नेता र पार्टी अध्यक्ष पदमा समेत नैतिक प्रश्न उठिरहेको छ ।
५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगसँगै आन्दोलनमा उत्रिएका नेपाल ९ भदौ २०७६ मा पार्टी विभाजन गरेर अलग्गै बाटो लिने बाध्यतामा पुगे ।
अलग पार्टी निर्माणपछि निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादीसँग मिल्दै अघि बढ्नुपर्ने अवस्था तथा निर्वाचनपछि पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा सिनियरदेखि तल्लो तहका धेरै कार्यकर्ता पुरानो पार्टी नेकपा एमालेमा फर्किए भने पार्टीले पनि नयाँ स्वरूप लिन नसकेको आरोप झेलिरह्यो ।
पार्टी महाधिवेशनमा निर्वाचनको अवस्था बन्न लाग्दा झलनाथ खनालतिर लाग्नसक्ने सम्भावना भएका बलिया नेताहरूलाई आफूतिर आकर्षित गरेका अध्यक्ष नेपालले महाधिवेशन लगत्तैबाट उनीहरूलाई अविश्वास गरेको आरोप लागिरहेको छ ।
अझ जनसंगठन तथा भूगोल कमिटीहरूमा एकलौटी गरेको आरोप थेगिनसक्नु छ । कार्यकर्ताको नर्सरी मानिने अनेरास्ववियु र युवा संघमा त समानान्तर गतिविधि नै छन् । पार्टीको जनपरिचालन करिब ठप्प रहेको पार्टीका शीर्षतहका नेताहरू बताउँछन् ।
संविधान र प्रचलित कानुनअनुसार भ्रष्टाचार मुद्दा दायर भएको मानिस त्यही संविधान र तिनै कानुन मानेर त्यही प्रणालीअन्तर्गत राजनीतिक पार्टी र संसदीय नेतृत्वमा बस्नु उपयुक्त नभएकाले विकल्प खोज्नुपर्ने बहस उठिरहेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन् ।
विभाजनको आशंका
नेकपा एमालेबाट दल विभाजन गरी निर्माण भएको नेकपा एकीकृत समाजवादी पनि विभाजनको त्रासमा छ । लामै समयदेखि जुनसुकै बेला फुट्नसक्ने आशंका गरिएको यो पार्टी बलियो र साझा नेताको अभावमा विभाजन हुन रोकिएको विद्रोही समूहनिकट स्रोतको दाबी छ ।
पार्टी निर्माणमा माधव नेपाललाई बलियो साथ दिएकी संस्थापक सचिव रामकुमारी झाँक्रीलाई अध्यक्ष नेपालले महाधिवेशनताका खनालतर्फ जानबाट रोक्न ‘भावी नेतृत्व’को आश देखाएर आफूलाई सर्वसम्मत बनाउन निर्णायक परिचालन गरेका थिए ।
तर, महाधिवेशन सकिएलगत्तै झाँक्रीलाई नै निर्वाचन हराउन सक्रिय भएका नेपाललाई अल्पमतमा रहनेगरी पार्टी विभाजन गर्न झाँक्री लागेको सूचना नेपालसमक्ष पुगेको थियो । पछिल्ला केही समयअघि नेकपा एकता केन्द्रसँग पार्टी एकता भएपछि अध्यक्ष नेपालविरुद्ध बलियो मोर्चाबन्दी भइरहेको सूचना अध्यक्ष नेपालसमक्ष पुगेको स्रोतको दाबी छ ।
वामदेव गौतमले एकीकृत समाजवादीसँग एकता गर्न खोजेको अघिल्लोपटक नै करिबकरिब तयारी अन्तिम भएपछि अध्यक्ष नेपालकहाँ एउटा सूचना पुगेको थियो–गौतमको प्रवेशसँगै एकीकृत समाजवादीमा विभाजनको रेखा कोरिन्छ ।
गौतमको नेतृत्वमा बहुमत प्रतिनिधिसभाका बहुमत सांसदसहित विभाजन गरी एमालेलाई संसद्को पहिलो पार्टी बनाउने सर्तमा सम्मानजनक एकता गराउने ‘फर्मुला’सहित पार्टी एकता हुन खोजेको भन्ने सुइँको नेपालसमक्ष पुगेपछि नेपालले आफूनिकट एक विश्वासिला पदाधिकारीमार्फत वामदेवलाई रोकेको चर्चा एकीकृत समाजवादीभित्र चलेको थियो ।
वामदेवको नेतृत्वमा हुने यस्तो गतिविधिलाई सम्मानित नेता झलनाथ खनालको मौन समर्थन रहने विश्वास गर्दै नेपालले त्यतिबेला रोकेका थिए । सम्मानित नेता खनाल चीन भ्रमणमा रहेका बेलामा गौतमसँग संवाद बढाएर पार्टी एकताको तय गरेका थिए । तैपनि गौतमले केही दिनअघि दिएको अभिव्यक्तिले नेपालमा विभाजनको त्रास बढेको छ ।
वाम एकता बहस गञ्जागोल
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलाई अहिले साझा रूपमा एउटा प्रश्न उठिरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेलामा पार्टी एकता गर्ने भन्दै बनाइएको समाजवादी मोर्चा कहाँ पुग्यो र पार्टी एकताको एजेन्डा कसरी छुट्यो भन्दै कम्युनिस्ट नेता कार्यकर्ताले प्रश्न उठाइरहेका छन् ।
पार्टी एकताको नाममा माओवादी केन्द्रले महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबाट विभाजित गंगानारायण श्रेष्ठ नेतृत्वको समूहसँग एकता ग¥यो । श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिँदै श्रेष्ठ समूहका नेतालाई केन्द्रीय सदस्यमा समेत जिम्मेवारी दियो ।
यस्तै, एकीकृत समाजवादीले नेकपा एकता अभियानका संयोजक वामदेव गौतमसँग पार्टी एकता ग¥यो । गौतमलाई एकीकृत समाजवादीले तेस्रो वरीयताका नेताका रूपमा पार्टीमा जिम्मेवारी दिएको छ ।
साना दलसँगको एकताबाहेक कम्युनिस्ट आन्दोलनलाई ठोस गति दिने र जनमत प्रभावित हुनेगरी एकता अभियान चलाउन नसकेकामा माओवादी र एकीकृत समाजवादीले पार्टीभित्र र बाहिरबाट आलोचना खेपिरहेका छन् ।
नेपाललाई झस्काउने त्यो पत्र
भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशमा बैंक जमानत बुझाएर तारेखमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई झस्काउनेगरी विशेष अदालतको नयाँ आदेश आएको छ ।
सोमबार न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ३ वर्षभन्दा बढीको कैद सजाय हुने प्रकृतिको मुद्दा भएकाले वारेस राख्न नपाइने भन्दै नेपालको वारेस राख्न पाऊँ भन्ने निवेदन खारेज गरिदिएको छ ।
अदालतको तारेख धाउँदै पार्टी र संसदीय दलको नेतृत्व गरिरहनु नैतिक आचरणयुक्त नहुने आवाज उठिरहनु र पार्टीभित्र सांगठनिक असन्तुष्टि झाँगिइरहनुले नेपाललाई तनाव बढाइरहेको छ । अझ पार्टी एकताको साता दिन नबित्दै वामदेव गौतमले उपयुक्त जिम्मेवारी नपाए हात बाँधेर बस्न नसकिने चेतावनी दिनुले नेपाललाई पार्टी विभाजनको डर बढेको छ ।
दोस्रो पुस्ता बस्दा पाका पुस्तामा ‘झस्को’
कम्युनिस्ट पार्टीहरूमा एकता संघर्ष रुपान्तरणको नारालाई सिद्धान्त र व्यवहारमा अलगअलग भएको आरोप लागिरहँदा साउन पहिलो साता सुरु भएको दोस्रो पुस्ताको गतिविधिले भने पहिलो पुस्तामा ‘झस्को’ पसेको छ ।
सरकारको नेतृत्वमा रहेका बेलामा मसिना विषयहरूमा पनि ‘षड्यन्त्र’ देख्दै विभाजनको बाटो खोज्ने कम्युनिस्ट नेताहरू प्रतिपक्षमा भएका बेला भने ‘शक्ति सञ्चय’का लागि एकताको विकल्पमा बहस गर्ने गरेका छन् ।
वाम एकताबेगर नेपालमा वामपन्थकै भविष्य संकटउन्मुख छ भन्ने निष्कर्ष निकालेर साउन पहिलो साता कम्युनिस्ट आन्दोलनका दोस्रो पुस्ताले गरेका प्रयत्नले पहिलो पुस्तालाई झसक्क बनाएको स्वयं दोस्रो पुस्ताका नेताहरूले स्विकारिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको सन्दर्भ पारेर ‘स्कुल अफ माक्र्सिजम’को आयोजनामा ६ साउनमा प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको कार्यक्रमका अतिथि, वक्ता, प्रचारक र सहभागीहरूको संयोजनलाई लिएर शीर्ष नेताहरू झस्किएका हुन् ।
‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रमुख वक्ताका रूपमा सहभागी भए ।
कार्यक्रमका वक्ताहरूले देशभित्रको समाजवादी आन्दोलन, वर्गसंघर्ष र अबको कम्युनिस्ट आन्दोलनलाई विश्लेषण गर्दा अघिल्लो पुस्तालाई घुमाउरो हिसाबले दोषी देखाउँदै ‘कोर्स करेक्सन’ आवश्यक भएको औंल्याए ।
स्कुल अफ माक्र्सिजनले मंगलबार आयोजना गरेको सो कार्यक्रमको एक दिनपछि अर्थात् बुधबार (७ साउन)मा समाजवादी मोर्चाले राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औं स्मृति दिवसको सन्दर्भमा विचार गोष्ठी कार्यक्रम आयोजना ग¥यो ।
गोष्ठीमा उपस्थित पाका नेताहरूले आफूहरू उभिएकै ठाउँ सही र आफूहरूले लिएको बाटो नै ठीक भन्ने पुष्टि हुनेगरी नेतृत्वको बचाउमा कार्यकर्ता पंक्ति उभिनुपर्ने जिकिर दोहो¥याए । भावावेशमा भनेजसरी क्रान्ति नहुने भन्दै दोस्रो पुस्तालाई आवेशमा बोलेको भन्ने अथ्र्याउँदै जवाफकेन्द्रित मन्तव्यहरू राखे ।
दोस्रो दिनको कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको बचाउको विषयमा अलिक प्रवचन दिए । दोस्रो तहका नेताहरू बाटो भुलेका यात्रीजस्तै रनभुल्ल पर्दै पहिलो पुस्ताका तर्कहरू सुनिरहे ।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपाललाई अनुकूल र आवश्यक समयमा प्रयोग गर्ने भन्ने आरोप लागेको समाजवादी मोर्चाको मञ्चमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीहरू सहभागी छन् । एक दिनको फरकमा आयोजित कार्यक्रममा व्यक्त विचारले धेरैमा शंका उब्जाएको छ ।
कम्युनिस्ट पार्टी स्थापनादेखि अहिलेसम्मको लेखाजोखा गर्दै दोस्रो पुस्ताका नेताहरू विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अहिलेको नेतृत्व फेर्ने ’boutमा एकमत छन् । दोस्रो पुस्ताको यही भावना नै पहिलो पुस्तालाई सबैभन्दा बढी बिझाउने काँडा बनेको छ ।
पछिल्लो समय घनश्याम, जनार्दन र विप्लवबीच घनिभूत छलफल हुँदै आएको छ । काठमाडौंको विभिन्न ठाउँमा हुुने सो छलफलमाा उनीहरूका बीचमा विभाजित कम्युनिस्ट पार्र्टीहरूलाई कसरी एकीकृत गर्ने र टेस्ट भइसकेका नेताहरूबाट नेतृत्व फेर्नुपर्नेमा निष्कर्ष निस्केको चर्चा बाहिरिएपछि प्रचण्ड र माधव नेपालबीच पटकपटक भेटघाट भइरहेको छ ।
राजधानी दैनिकबाट