ओली र देउवा मिलेसम्म यो सरकार परिवर्तन हुँदैन: माधव नेपाल

ओली र देउवा मिलेसम्म यो सरकार परिवर्तन हुँदैन: माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेसम्म अहिलेको सरकार परिवर्तन नहुने दाबी गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको दाबी गरे। उनले प्रधानमन्त्री ओलीको दम्भ, अहंकार, गलत नीति र गलत कामको कारण देश नै पूरै पीडित बनेको आरोप समेत लगाए।

आज (विराटनगर) विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले भने,‘अहिलेको सरकार सबै हिसाबले असफल छ। एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ।’ उनले देशलार्य अहिलेको पीडाबाट मुक्त गर्नको लागि ओलीलाई बिदा गरिनुपर्ने मत राखे।

तर, अहिले तत्काल सरकार परिवर्तन हुने अवस्था नभएको उनको जिकिर छ। उनले ओलीको कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति भएको आरोप लगाए । उनले ओलीकै कारण सरकारको नेतृत्व गरेको दल एमालेभित्र तमासा भैरहेको टिप्पणी गरे।